पोखरा महानगरका पाँचसय कर्मचारीद्धारा आन्दोलनको चेतावनी

मंसिर ६, २०७८ सोमबार

पोखरा । पोखरा महानगरपालिका अन्तर्गत स्थानीय तहका कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

कर्मचारीहरुले लामो समयदेखि आफूहरुको वृत्ति विकास र स्थायित्व नभएको गुनासो गरेका छन् ।

विभिन्न पाँच बुँदे माग राख्दै उनीहरुले एकहप्ता भित्र मागका सम्वन्धमा सुनुवाई नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । 

यस विषयमा कर्मचारीहरुले महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापन पत्र बुझाएका छन् ।

संयुक्त कर्मचारी समितिका अध्यक्ष ई. झपट बहादुर थापाको नेतृत्वमा विभिन्न कर्मचारी संघसंगठनका प्रतिनिधिसहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । 

महानगर आँफैले कानून बनाएर कार्यान्वयन गर्न सक्ने भए पनि आफूहरुका समस्यामा महानगर उदासिन बनेको भन्दै कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका हुन् ।

सरकारले कर्मचारी समायोजन ऐन बनाएर निजामति सेवातर्फका कर्मचारीहरुलाई दुई तह वृद्धि गरी स्थानीय तहमा पठाइएको तर लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम परीक्षा प्रणालीमा उत्तीर्ण भइ कामकाज गरेका स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको गुनासो छ । 

महानगरले कानून बनाएर स्थानीय तहका कर्मचारीको व्यवस्थापन नगर्दा १५ बर्षदेखि कर्मचारीहरुको बढुवा रोकिएको बताइएको छ । 

२०६४ असोज मशान्त अघि अस्थायी र करारमा नियुक्त भएका कर्मचारीका सम्वन्धमा अदालतले गरेको परमादेश कार्यान्वयन गर्न समेत कर्मचारीको माग छ ।

कर्मचारीहरुले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको भन्दै आपत्ति पनि जनाएका छन् । 

विगतमा कार्यालयले कर्मचारी संचयकोष, महङ्गी भत्ता, पोशाक भत्ता लगायतमा गरेको व्यवस्था कायम गर्नसमेत कर्मचारीले माग गरेका छन् । 

अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको सेवा सुनिश्चितता पछि मात्रै नयाँ दरवन्दी सिर्जना गरी कर्मचारीको भर्ना प्रक्रिया अघि बढाइनुपर्ने र अन्यत्रबाट महानगरमा जथाभावी कर्मचारी ल्याउने काम बन्द गरिनुपर्ने माग समेत राखेका छन् । 

कर्मचारीहरुले महानगरको कर तथा राजश्वलाई करमैत्री बनाइनु पर्ने, सेवा प्रवाहलाई नागरिक मैत्री एवं बेरुजु र बेथितिको सुधार गर्दै सुशाासन मैत्री बनाउन तत्काल कार्ययोजना बनाईनुपर्नेमा जोड दिएका छन् । 

पोखरा महानगरपालिकामा गाभिएपछि लेखनाथ नगरपालिका, विभिन्न गाविस एवं उपमहानगर समेतका गरी स्थायी, अस्थायी, करार र ज्यालादारी गरी करिब पाँचसय कर्मचारीहरु महानगर अन्तर्गतका स्थानीय तहमा कार्यरत छन् ।