सवारी दुर्घटनामा माओवादी केन्द्र गोरखाका नेता सुवर्ण देवकोटाको मृत्यु

मंसिर ८, २०७८ बुधबार

तनहुँ । सवारी दुर्घटनामा परी माओवादी केन्द्र गोरखाका युवा नेता सुवर्ण देवकोटाको ज्यान गएको छ ।

मंगलबार तनहुँको भन्सारमा उनी सवार बा४५प २३८ नम्बरको स्कूटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । 

उनको डुम्रेस्थित मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीका अनुसार ठक्कर दिने बस र  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

पालुङटार नगरपालिका ४ घर भएका देवकोटा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक पनि हुन् ।