कांग्रेस महाधिवेशनः प्रदेश सभापतिका उम्मेदवार शुक्रराज शर्माको सम्पर्क कार्यालय स्थापना

मंसिर १४, २०७८ मंगलबार

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता शुक्रराज शर्माले सम्पर्क कार्यालय खोलेका छन् ।

उनले सोमबार सभापतिमा उम्मेदवारी घोषणा गरेलगत्तै सम्पर्क कार्यालय पनि शुभारम्भ गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ९ स्थित महेन्द्र उच्च माविको ठीक अगाडि सम्पर्क कार्यालय खोलेका हुन् ।

उनले आफूले पार्टीका लागि गरेको योगदान नै सभापतिमा जित सुनिश्चित हुने बताए ।

पार्टीका सबै नेता कार्यकर्ताको चाहना बमोजिम आफू प्रदेश सभापतिमा उम्मेदवारी दिएको उनले बताए । 

१७ वर्ष कास्की कांग्रेस हाँकेका शर्मा पार्टीभित्र संगठकको रुपमा परिचित छन् । उनी कास्की कांग्रेसमा अहिले पनि अभिभावकको भूमिकामा छन् ।