मंसिर १४, २०७८ मंगलबार
पृष्ठभूमिः
बालखैमा अभिभावकले भन्नुहुन्थ्यो, ‘भगवान् दाहिना हुन्’ । त्यो बेला भगवान् भनेकै बुझिँदैनथ्यो । जुन समय भोकमा भोजन र निद्रामा बिस्तारा पु¥याउने आफन्त नै भगवान् हुन्थे । समयको कालक्रममा २०५८ सालमा पोखरा झरेपछि वरपाटनका पराजुली परिवारका घरमा बसोबास भयो । सोही समय नजिकैबाट स्पर्श गरेको विन्ध्यवासिनी मन्दिरले बालादिनमै आमाबुबाले भनेको भगवान् दाहिना हुन् वाक्यांशले आजपर्यन्त धार्मिक आस्थाका केन्द्रलाई दाहिने पारेर हिँड्ने मनोविज्ञानको विकास गरायो । त्यही आस्था र सञ्चार कर्मले साक्षात्कार गर्ने सौभाग्यमा परेका रुद्रनाथ अधिकारीसँगका विस्मृत स्मृतिलाई आज उनैको ८५ औं जन्मजयन्ती सन्दर्भमा चर्चा प्रयास गरिएको छ ।
विषयप्रवेश :
पिता बृहस्पती र माता कलावती अधिकारीका कोखबाट १९९४ मङसिर १५ गते मंगलबारका दिन यस धर्तीमा रुद्रनाथ अधिकारीको पहिलो पाइलो पारेको थियो । २००२ सालमा घरमा पिता, गुरुवर्ग र साथीसंगीको संगतबाट लघु कौमुदी, अमरकोष, व्याकरणको प्रारम्भिक शिक्षा आर्जन गरेका अधिकारीले स्नातकसम्मको अध्ययन पूरा गरे । हुने बिरुवाको चिल्लो पात भने झैँ विलक्षण प्रतिभाका धनी अधिकारीले आफ्नो जीवनयात्रालाई सुकर्मका प्रभावले बहुआयाममा विस्तारित गर्दागर्दै भौतिक शरीर छोडे तापनि उनका सामाजिक, धार्मिक, सरकारी र विविध क्षेत्रका अनुष्ठान आजपर्यत्न जीवन्त छन् ।
उनको बौद्धिक व्यक्तित्व, सामाजिक चिन्तन, समाज सुधारक विचार, कार्यप्रतिको लगनशीलता, इमान्दारिता, नैतिकता, सत्चरित्रता, भाषिक मिठासता र समभावना जस्ता सत्चिन्तन र चरित्रले उनलाई कलियुगका त्रिनेत्रधारीका रूपमा स्मरण गर्ने गरिएको पाइन्छ । साच्चै उनको जीवनयात्रालाई हेर्दा कलियुगका ब्रह्मा, विष्णु, महेश्वर भनेर गुणगान गाए तापनि कमै जस्तो अनुभूति हुन्छ । बहुआयामिक व्यक्तित्वका धनी रुद्रनाथले आफ्नो जीवनकालमा गरेका अनुष्ठानको जति चर्चा गरे पनि कमै हुन्छ यद्यपि यहाँ उनको विशेष योगदान रहेका विविध क्षेत्रमध्ये उनलाई शिक्षा क्षेत्रका नेत्र, समाजसेवाका नेत्र र सनातन संस्कार संस्कृतिका नेत्रका रूपमा उनका कर्मले परिभाषित गराउँदै आएको भन्दा उनको योगदानको अन्याय हुँदैन ।
शिक्षाका नेत्र:
रुद्रनाथ अधिकारीको जीनमै समाजमा शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने थियो । त्यसैले आफ्ना जिन्दगीका असर्दाहरूलाई पन्छाउँदै–पन्छाउँदै आफूले पनि स्नातकसम्मको अध्ययन पूरा गरे । आफन्तजनलाई पनि शिक्षाको ज्योतिले जाज्वल्यमान बनाउने अभियानमा लागे । त्यसैको उपज उनको घर परिवारमा उमेर पुगेका उच्च शिक्षा हासिल नगरेका कुनै सदस्य छैनन् । हामीलाई थाहा भएकै कुरा हो । शिवालय जाने परिवारमा जन्मेका छोराछोरी पहिल्यै वेश्यालय जान सिक्दैनन् । भलै समयको कालक्रममा साथीसंगीको रमझमले जालान् त्यो बेग्लै कुरा हो, तर रुद्रनाथ अधिकारी तिनै शिवालय जाने भक्तजनका परिवारमा जन्मेका असल सन्तानमध्येका एक थिए त्यसैले उनले आफ्नो घरलाई शैक्षिक शिवालयमा परिणत गरेर आफन्तजनलाई भक्त बनाए । जसको ज्वलन्त उदाहरण आजको शिवशक्ति माध्यमिक विद्यालय पोखरा-११, फूलबारी रहेको छ । जुन समय आजको शिवशक्ति बालशिक्षा निकेतनका नाममा सञ्चालित थियो उनै रुद्रनाथको पहलमा ।
तत्कालीन छुवाछुत र विभेदपूर्ण समाजमा समावेशी चिन्तनमा रहेर ब्राह्मण, क्षत्री, वैष्य र शूद्र केही नभनेर एउटै चौतारीका ढुङ्गा र काठका टुक्राटाक्रीमा बसालेर शिक्षा आर्जन गराएका रुद्रनाथले २०१६ सालमा संस्थापक प्रधानाध्यापकको नियुक्ति पाए । जसवापत उनले ९५ रूपैयाँ र उनका सहयोगी शिक्षकले ८५ रूपैयाँ मासिक पारिश्रमिक पाए तर अधिकारीर्लो राज्यले दर्जानुसार गरेको विभेद मन परेन । दुवैले बराबर पारिश्रमिक लिएर सरोकारवाला निकायमा ८५-९५ कै कागज पठाए । बालशिक्षा निकेतनबाट आरम्भ भएको विद्यालय क्याम्पस हुँदासम्म उनले आफ्नो जीवनको उर्वर समय त्यहाँ लगानी गरेका थिए । त्यसको आर्थिक र भौतिक समृद्धिका लागि महायज्ञको आयोजना हुँदा सर्वाधिक दान गरेर धन हुनेहरूले मन पनि फुकाउन जान्नुपर्छ भन्ने सन्देश दिए । उनी सर्वोत्कृष्ट दानदाता मात्र नभएर विद्यार्थी प्रोत्साहन दिनका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गरेर शिक्षाको ज्योतिमा तेल थपिरहे । यसरी शिक्षाको ज्योति जगाउन क्रियाशील रहेका उनले २०२२ सालमा हालको भद्रकाली माध्यमिक विद्यालय पोखरा-१३ कुडँहरमा पनि शिक्षक रहेर त्यस क्षेत्रमा शिक्षाको ज्याति जगाएका थिए । यसरी गाउँ समाजमा शिक्षाको नेत्र खुलाउन लागेका अधिकारीको संगतमा परेका हिजोका कोपिलाले आज राज्यका विभिन्न बागडोर समालेर रुद्रनाथले देखाएको शैक्षिक नेत्रले समाज हेरिरहेका छन् ।
समाजसेवाका नेत्र:
शिक्षा क्षेत्रलाई सुधारको मार्गमा ल्याएपछि रुद्रनाथलाई राज्यको सेवा गर्ने इच्छा जाग्यो । लोकसेवा आयोग लडेर २०२४ सालमा निजामती सेवामा प्रवेश गरे । यसक्रममा उनले २०२४ माघ ३ गतेका दिन अर्थ मन्त्रालय अन्तर्गत राजापुर छोटी भन्सार बर्दियामा राज्यको नुनपानी खाएर निजामती कर्मचारीका रूपमा आफ्नो पहिचान बनाए । वर्तमानको विशृङ्खल परिवेशमा पो एसएलसीवालाको कारिन्दा भएर स्नातकोत्तरका गोल्ड मेडलिष्टहरू हिँड्न परेको छ । हिजोका दिनमा शैक्षिक योग्यता पुगेका, समाजमा देखिने टाठाबाठालाई रोजगारीको समस्या थिएन । निजामती सेवा प्रवेशको एक वर्षपछि उनी हुलाक हाकिममा बढुवा भएँ । २०२५ सालदेखि २०३१ सालसम्म कास्की जिल्ला हुलाक र २०३२ सालमा निमित्त क्षेत्रीय हुलाक निर्देशक भएर सेवारत रहँदा उनले टोल छिमेकका भाइ, बन्धुवान्धवको जनजीवनमा आइपरेका सर्दाअसर्दा सबै टारेर अगाडि बढेका थिए । यो मात्र होइन, योग्यता पुगेका गाउँले भाइ, भतिजा, बन्धुवान्धवलाई निजामती सेवाको महत्व बुझाएर उल्लेख्य संख्यामा सेवामा प्रवेश गराउन प्रेरणा र सहयोग गरेर धेरैका चुलोचौकामा आर्थिक समृद्धिको नेत्र खुलाइदिए । यसरी अगाडि बढ्दै आएका उनी २०३५ सालदेखि २०३७ सालसम्म सामान्य प्रशासन मन्त्रालय अन्र्तगत रा.प.तृतीय अधिकृतका रूपमा सेवारत थिए ।
त्यसपछिको समय २०३७ सालदेखि २०५४ सालसम्म स्थानिय विकास मन्त्रालय अन्तर्गत योजना तथा प्रशासकीय अधिकृत, का.मु. स्थानीय विकास अधिकारी, निमित्त क्षेत्रिय निर्देशक र सुरक्षा अधिकारी जस्ता जिम्मेवारीमा रहे । यसरी निजामती सेवामा क्रियाशील रहेका बेला उनले गृह जिल्ला कास्की मात्र नभएर तनहुँ, गोरखा, लमजुङ, मनाङ, रूपन्देही, सल्यान, बागलुङ, पर्वत, मस्ताङ, नुवाकोट, महोत्तरी, ललितपुर, काठमाडौं, पर्सा, बर्दियालगायतका स्थानमा रहँदा सरकारी सेवामा देखाएको इमान्दारिता र विकास निर्माणका सन्दर्भ तत्स्थानमा शिक्षासेवी, समाजसेवी, राजनीतिकर्मी र सर्वसाधारणले स्मरण गर्दै उनको निधनपछि विभिन्न आलेखमा उल्लेख गरेको पाउन सकिन्छ । पोखरा र जन्मथलो फूलबारी क्षेत्रलाई आजको शिक्षा, सञ्चार, बाटोबाटो र सामाजिक पूर्वाधारले भरिपूर्ण बनाउन उनको योगदान के कति थियो भन्ने कुरा यहाँ उल्लेख गरेर साध्य नै नहुने चिरस्मरणीय रहेको पाइन्छ । यसैले उनी निजामती कर्मचारीमध्येका वास्नादार फूल भएर मगमगाई रहने कर्मचारीका रूपमा आफ्नो जीवनयात्रालाई परिचित गराउन सफल थिए ।
सनातन संस्कार संस्कृतिका नेत्र:
अधिकांश व्यक्तित्व सरकारी सेवाबाट निवृत्त भएपछि निकै अपमानपूर्ण जीवन बाँचिरहेको हाम्रै आँखाले देखिएको छ तर रुद्रनाथ अधिकारी यस्ता असल व्यक्तित्व थिए । आफ्नो सेवानिवृत्त जीवन घर परिवार र आफन्तजनसँगको पुर्नमिलनमा बिताउने चाहना राख्दा पनि त्यो अवस्था सिर्जना हुन सकेन । शिक्षा, समाजसेवाका साथसाथै रुद्रनाथ २०५८ सालबाटै हाम्रो सनातन धर्म संस्कार संस्कृतिको संरक्षणमा क्रियाशील थिए । उनले सिद्देश्वर मन्दिर फूलबारीको अध्यक्ष भएर दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका थिए । संस्कार सदन पत्यानीको संस्थापक अध्यक्ष भएर हाम्रा संस्कार कर्मलाई सत्मार्गमा अगाडि बढाउन र पुस्ता हस्तान्तरणका लागि क्रियाशील थिए । यसरी लाग्दै गर्दा विन्ध्यवासिनी धार्मिक क्षेत्रको विकासका लागि २०५९ सालमा सम्पन्न विन्ध्यवासिनी विराट महायज्ञमा उनी पोखरा-११ का तर्फबाट संयोजक भएर आफ्नो संस्कार संस्कृति संरक्षणको आयामलाई तन्काउँदै अगाडि बढेँ । हाम्रा वैदिक सनातन धर्म, संस्कार र संस्कृतिले उनलाई मोहनी लगाए झैँ तानेरै ल्यायो । अन्ततः जीवन उत्तरार्धको समय धर्मकर्मका अनुष्ठानमा बित्न पुग्यो । यही समयमा पंक्तिकारलाई अधिकारीसँग साक्षात्कार गर्ने सौभाग्य प्राप्त भयो ।
विशृङ्खल समाजमा धर्मराजहरू विधर्मी हुन थाले । घर आँगनका तुलसीका मोठ, बाटा छेउछाउका पाटीपौवा, चौतारा र वरपिपलहरू निमोठिन थाले । धर्मभिरु मन्दिरका पुजारीहरू पवित्र वस्त्रमा अपवित्र कर्म गर्न उद्धत रहे । यस्तै अपवित्र कर्मकाण्डको नमीठो गन्ध पोखरेली जनमानसका कानमा गुञ्जन पुग्यो । खोलावारिको दुर्गन्धले खोलापारिका रुद्रनाथको नाकसम्म स्पर्श गर्न भ्यायो । पोखरा आसपासका अधिकांश सार्वजनिक जग्गा, तालतलैया, गौचरनलगायतका जग्गा व्यक्तिका लालपूर्जामा देखिने शृङ्खला चल्दै गर्दा पोखरा-३, नदीपुरको नारायणस्थान गुठीको जग्गा केही विधर्मीका कुकर्मले हिनामिना भएको परिघटनाले रुद्रनाथलाई पोल्यो ।
सरकारको सम्पत्तिमा व्यक्तिको हालिमुहालीका घटना परिघटना चल्न थाल्दाका विविध शृङ्खलामध्येको शृङ्खला नारायणस्थान गुठीको जग्गा हिनामिनाको घटनाले पोखरेली नागरिक समाज, सञ्चार जगत्, धार्मिक र समाजसेवी व्यक्तित्वलाई एकाकार गरायो । २०६१ सालमा संस्थापक अध्यक्ष भएर रुद्रनाथ अधिकारी आफ्नो बालादिनको थातथलो भन्दा केही परको वैदिक सनातन धर्म, संस्कार, संस्कृतिको संरक्षणमा जाग्नुपर्ने जिम्मेवारी उनैको थाप्लामा पर्न पुग्यो ।
अधिकारी किन पढिछ हट्थे, उनी जुर्मुराएर लागे । यसरी जुर्मुराएका अधिकारी नारायणस्थान गुठीको जग्गा हिनामिना गर्नेहरूका विरुद्धमा नारायणस्थान धार्मिक क्षेत्र विकास समितिबाट मुद्दा लड्दालड्दैको अवस्थामा थिए । केही सफलता हासिल हुँदै थिए । विकास समितिलाई आर्थिक र भौतिक रूपमा सुविधा सम्पन्न बनाउन श्रीमद्भागवत महायज्ञ आयोजना गरेर सर्वाधिक दानदाताका रूपमा सुनौला अक्षरले नाम लेखाइ सकेका थिए । विधिको विडम्बना २०७० श्रावण २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा मुटुको उपचारका क्रममा अधिकारीको जीवनलीलाको त्यान्द्रो चुडियो । त्यससँगै नारायणस्थान धार्मिक क्षेत्र विकास समिति मात्र टुहुरो हुन पुगेन । हाम्रो सनातन धर्म, संस्कार र संस्कृति संरक्षणमा अपूरणीय क्षति हुन पुग्यो । यसैले आम सनातन धर्म, संस्कार, संस्कृतिप्रेमीको नेत्र गुमेको र आफूलाई अभिभावकविहीन सन्तान सम्झन पुगेको अवस्था सिर्जना भयो । आज पर्यन्त भइरहेको छ ।
निष्कर्षः
रुद्रनाथ अधिकारी जीवनको अन्तिम क्षणसम्म शिक्षा, समाजसेवा, सनातन धर्म, संस्कार र संस्कृति संरक्षणमा क्रियाशील थिए । अधिकारीले जीवनको शुरुआतीमा शैक्षिक क्षेत्रको ज्योति जगाए । उर्जाशील समयमा समाजसेवा र राज्यसेवामा जगमगाएर जीवनको उत्तराधमा सनातन संस्कार संस्कृतिका नेत्र बनेर उज्यालो छरिरहेका थिए । आज उनको निधनले फूलबारीवासी, पोखरावासी मात्र होइन राज्यलाई नै अपूरणीय क्षति पुगेको छ । बालादिनमा राम्रो ‘म’ भनेर पढेका वर्णमालाका अक्षरबाट राम्रो हराएको म धारी हरेक मानवले सकारात्मक चिन्तन गर्न आवश्यक छ । त्यो हुन सक्यो भने बाँकी जीवनमा रुद्रनाथ अधिकारीसँग भौतिक साक्षात्कार गर्न नपाए तापनि उनले देखाएको सत्मार्ग, सुसम्पन्न गरेका सुकर्म र गाउँ समाजमा फैलाएको सुगन्धलाई अनुशरण गर्न सकेमात्र अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । ८५ औं जन्मजयन्ती सन्दर्भमा यिनै अश्रुपूर्ण हरफद्वारा अधिकारीप्रति हार्दिक श्रद्धासुमन !
(लेखक गौतम पत्रकार, साहित्यकार, समीक्षक एवं समालोचक हुन् ।)