‘मन गुरुङ एटाएर फेसन नाईट’ बाट नगद १ लाख भन्दा बढी सहयोग

पुस २४, २०७८ शनिबार

पोखरा । शुक्रबार पोखरा लेकसाईडको कुटी रिसोर्टमा ‘मन गुरुङ एटाएर फेसन नाईट’ सम्पन्न भएको छ । एस.टि. क्रियशन म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा फेसन डिजाईनर मन गुरुङको ड्रेसमा मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल निति शाहले र्‍याम्प वाक गरेकीछन् । उनलाई पोखराका चर्चित १० मोडलहरुले र्‍याम्पमा साथ दिएका थिए ।

फेसन डिजाइनर गुरुङले डिजाइन गरेका विभिन्न पोशाकहरुलाई तिन फरक–फरक थिमको सिक्वेन्समा प्रदर्शन गरिएको थियो । उनका अनुसार ३१ वटा ड्रेस तयार पार्न करिब १ महिना भन्दा बढी समय लागेको थियो । कार्यक्रममा प्रस्तुत गरिएका ड्रेसहरु निकै आकर्षक र भव्य देखिएको थियो ।

कार्यक्रममा साथीसंसार नेपाल संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाहरुलाई पोशाक, खाद्यान्न र औषधिको लागि रु १ लाख १ हजार १ सय एघार रुपैयाँ नगद सहयोग गरेको छ । उक्त रकमको चेक साथी संसार संस्थाका कार्यक्रम संयोजक नारायण अधिकारीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमका सभापति तथा सामाजिक अभियन्ता राम रानाभाटका अनुसार साथीसंसार नेपाल संस्थामा आश्रित बालबालिकालाई प्रदान गरेको उक्त रकमले केहि राहत पुग्ने बिश्वास लागेको बताए । उनले कार्यक्रमको लागि जुतेको सहयोगले अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्न महत्त्वपूर्ण योगदान पुगेको बताउदै प्रायोजक एवं सहयोगि सम्पूर्णलाई धन्यवाद ग्यापन समेत व्यक्त गरे ।

कार्यक्रमकी प्रमुख अतिथी तथा महिला उद्यमी मिलन थापाले मन गुरुङको कला र कौशलको तारिफ गर्दै महिलाहरु पनि सबल र सक्षम छन् भन्ने उदाहरण गुरुङले प्रस्तुत गरेको बताइन् । सामाजिक सेवाको भावले आयोजना गरिएको कार्यक्रममा आफु उपस्थित हुन पाउँदा निकै खुशि ब्यक्त गर्दै फेशन शोको माध्यमबाट सहयोग प्रदान गरिनु उदाहरणिय कार्य भएकोले आयोजक टिमलाई धन्यवाद समेत ब्यक्त गरिन् । 

डेन्टल विषयमा स्नातक सकेर डेन्टल हाईजिनिस्टको रुपमा कार्यरत रहेकी गुरुङले आफ्नो रुचिको विषय फेसन डिजाइन भएको बताईन् । उनले सन् २०१७ मा आईएफसिबाट डिप्लोमा ईन फेसन डिजाईनिङ कोर्स गरेकी थिईन्।

पोखरामा सम्पन्न विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगितामा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गर्दै आएकी थिइन । उनले भनिन् ुयो मेरो पहिलो तथा एकल फेसन सो हो, आफुले सिकेको सिपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा फरक नाम लेखाउने उदेश्यले कार्यक्रम गरिएको होु । आफ्नो सपना पूरा गर्नु संगै सानो सहयोग गरेर कसैको खुशीको कारण बन्न पाउँदा अझ बढी खुशी लागेको उनले बताए ।

मोडल तथा कोरियोग्राफर जेनिता थापामगरको कोरियोग्राफीमा सम्पन्न उक्त फेशन नाईटमा गायक सन्तोष बस्याल, गायिका प्राप्ती तुलाचन, नृत्यकार सोनु खत्री र फरेवरवान डान्स ग्रुपको बिषेश प्रस्तुतीहरुले कार्यक्रमहलमा भरिभराउ दर्शकलाई थप मनोरञ्जन प्रदान भएको कार्यक्रम संयोजक सचिन रानाभाटले बताए।

विश्व महामरी कोरोना भाईरसका कारण भएको लकडाउन पछि करिव २ बर्षको अन्तरालमा यो पहिलो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था एस. टि. क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए । अब अन्य कार्यक्रमहरु पनि आयोजना गरिने र छिट्टै मिस मगर नेपाल २०२२ को आयोजना हुने निर्देशक थापाले बताए । राती ९ बजे सम्म चलेको उक्त कार्यक्रमलाई ईभेन्ट होस्ट ईनिसा दुराले संचालन गरेकी थिईन् ।