फैलिंदै कोरोना, लकडाउनको त्रास

पुस २६, २०७८ सोमबार

-हाल नेपालसहित विश्वभर ओमिक्रोन भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । अस्पतालका शैय्याहरु भरिन थालेका छन् । कोरोना भाइरस थप फैलिन नदिन नेपाल सरकारले शैक्षिक संस्था बन्द गराएको छ भने मेला र महोत्सव पनि बन्द गरेको छ । योसंगै जनतामा पुनः लकडाउनको त्रास फैलिएको छ ।

हालैका दिनमा भारतमा समेत ओमिक्रोनको संख्या दैनिक ५०/६० हजारको हाराहारीमा आइरहेको सन्दर्भमा नेपाल पनि त्यसबाट अछूतो रहन सकेको छैन । छिमेकी देश भारतसँगको सीमा नाकामा दैनिकरुपमा हजारौँ व्यक्तिहरु निर्वाध आवतजावत गरिरहेका छन् । न उनीहरुको कोरोना परीक्षण भएको छ न त्यहाँ चाहिने पर्याप्त सतर्कता र सचेतता नै देखिएको छ । यसले नेपाल थप असुरक्षित बन्न पुगेको छ । सीमा नाकाहरुमा स्वास्थ्य मापदण्ड पालना भएको नदेखिनु अहिलेको ठूलो चिन्ताको विषयसमेत हो । देशमा कोरोनाको दोस्रो लहर बढ्नुमा समेत तिनै सीमा नाका प्रमुख कारकका रुपमा अघि आएका थिए भने तेस्रो लहरले भारतलाई नराम्ररी गाँजिरहेको अवस्थामा देशमा फेरि त्यही परिदृश्यको पुनरावृत्ति हुने उच्च जोखिम बढ्न पुगेको छ ।

अहिलेसम्म नेपालमा ओमिक्रोनको सङ्क्रमण केही दर्जन मानिसमा मात्रै देखिएको छ, जुन आधिकारिकरुपमा बाहिर आएको तथ्याङ्क पनि हो । स्वास्थ्य सुरक्षाको पालनासँगै बढीभन्दा बढी कोरोना परीक्षणलाई प्रभावकारीरुपमा अघि बढाउनुपर्नेमा त्यसप्रतिको हेलचेक्र्याइँ भने अहिले चरम छ । एकातिर देशमा पर्याप्त खोपहरु भण्डारण गरिएको भन्ने र अर्कोतिर कार्यक्रम घोषित गरिएर वृद्धावृद्धाहरुलाई लगाउन थालिसकेको अवस्थामा त्यो अभियान नै स्थगित गर्नुपर्नेजस्ता दोहोरो मापदण्डहरु देशमा विद्यमान रहेको अवस्थाले आगामी दिनहरुमा थप लापर्बाही हुन सक्ने सम्भावना उत्तिकै छ ।

डेल्टा भेरियन्टजस्तो शक्तिशाली र घातक हालको ओमिक्रोन भेरियन्ट देखिएको भने छैन, यसबारेमा विभिन्न तथ्यहरुले पुष्टि गरिरहेका छन् । जुनरुपमा डेल्टाको कारण मृत्युदरमा भारी वृद्धि भएको थियो त्यसअनुरुप ओमिक्रोनको प्रभाव भने रहेको पाइँदैन । कोरोनाको सन्दर्भमा यो एउटा पक्षबाट सन्तोषको विषय पनि हो । यद्यपि, सङ्क्रमणको सवालमा भने डेल्टाको तुलनामा कयौँ गुणा घातक ओमिक्रोन भाइरस देखिएको छ । यस अर्थमा पनि जति बढी बिरामी भए त्यति नै स्वास्थ्य पूर्वाधारहरु चुस्तदुरूस्त राख्नुपर्ने हुन्छ । 

नेपालको स्वास्थ्य प्रणाली निकै कमजोर देखिएको अवस्थाले धेरै बिरामीहरुको उपचार धान्न नसक्दा बाँच्न सक्ने बिरामीहरु पनि अनाहकमा मर्न सक्ने खतरा त्यत्तिकैरुपमा जीवित छ, जसबाट अप्रत्यक्षरुपमा मृत्युदरलाई बढाउन सक्ने अवस्थाको सिर्जनासमेत हुनेछ । विगतमा बेडहरुको अभाव, अक्सिजनको सङ्कट र पर्याप्त औषधि उपचारसमेत नपाएर कयौँ बिरामीहरुले मृत्यु वरण गर्न पुगेको अवस्थालाई ध्यान दिएर अब आउने कोरोनाको तेस्रो लहरको खतराअगावै त्यसबारेमा समयमै स्वास्थ्य पूर्वाधारहरुको निर्माण गर्नुपर्ने खाँचो छ । त्यससँगै स्वास्थ्य प्रणालीलाई समेत सबल र सक्षमरुपमा रुपमा अघि बढाउनुपर्ने देखिन्छ । विद्यालय बन्द गराएर हजारौं विद्यार्थीको भविष्य अन्यौलमा राख्नु भन्दा सबै बालबालिकालाई खोप दिनु उपयुक्त हुन्छ । यसमा विशेषगरि सरकारले विशेष ध्यान दिन आवश्यक छ ।