२०७८ माघ: समग्रमा कस्तो होला तपाइँको यो महिना ?

माघ १, २०७८ शनिबार

मासिक फल

यस वर्ष सूर्यले माघ १ गतेका दिन अपराह्न १२ बजेर १७ मिनेटमा मकर राशिमा प्रवेश गर्नेछन् । सूर्यले राशि परिवर्तन गरेको समयमा शनिवार परेको छ र उक्त समयमा मृगशिरा नक्षत्र, ब्रह्म योग, कौलव करण, आनन्दादि वज्र योग, वृष लग्न, वृष नवमांशक र अमृत वारवेला रहेको देखिन्छ । हरेक वर्ष माघ महिनामा श्रीसूर्यनारायणले मकर राशिमा भ्रमण गर्ने गर्दछन् । अन्य ग्रहहरूको राशि भने फरक फरक हुने गर्दछ । यस पटक माघ सङ्क्रान्तिको समयमा मकर राशिमा सूर्य, चन्द्रमा, बुध, बृहस्पति र शनिश्चरको पञ्चग्रह युति सम्बन्ध बनेको छ ।

त्यसबाहेक मेष राशिमा मंगल, बृष राशिमा राहु, बृश्चिक राशिमा केतु र धनु राशिमा शुक्र ग्रहको उपस्थिति रहेको देखिन्छ । चन्द्रमाले प्रत्येक दुई वा तीन दिनमा राशि परिवर्तन गर्ने गर्दछ, यस अतिरिक्त माघ महिनामा शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने संकेत छ, शुक्र ग्रहले यस महिनाको १४ गते बिहान मकर राशिको यात्रा प्रारम्भ गर्नेछ । राहु र केतुबाहेक यो महिना बुध ग्रह पनि बक्र गतिमा रहने छ, बुध ग्रहको बक्र रहने अवधि माघ १५ गतेदेखि फाल्गुन ७ गतेसम्म हो ।

शनिबारका दिन सङ्क्रान्ति परेकाले जनताले सुखको अनुभूति गर्नेछन् । धान्यादि खाद्यपदार्थको मूल्यमा गिरावट आउने र स्थिर रहने संकेत छ । सुन जस्ता पहेंला धातुको मूल्यमा वृद्धि हुनेछ । दुग्धजन्य पदार्थको उत्पादन बढ्ने छ, लताकपडाको मूल्य तल झर्नेछ, तर आभूषण, श्रृंगारमा प्रयोग हुने सुन, चाँदी, अन्य धातुहरू, सेनेटरी, सजावटका चिजबीज, रंगरोगन र कस्मेटिक पदार्थको मूल्यमा बृद्धि हुनेछ । खाद्यान्नको मूल्य घटे पनि तरकारी, दाल, गेडागुडीको मूल्य आकाशिने संकेत छ । चिसो बढ्ने छ, ग्रहहरू अस्त रहनाले धार्मिक र आध्यात्मिक उत्सवादिमा कमी आए पनि मानिसमा धर्मप्रतिको मोह बढ्नेछ ।

धार्मिक मामिला र न्यायिक प्रक्रियाका लागि जनता एकजुट हुनेछन् । मठमन्दिर र परम्परासम्बद्ध संस्थाको विकासका लागि सरकारको ध्यान आकृष्ट हुनेछ । शासकद्वारा कल्याणकारी कार्य गर्न प्रयास गरे पनि पुराना बाचा र योजना पूरा हुने लक्षण देखिंदैन । शेयर बजारमा मन्दी आउने छ, अन्तर्राष्ट्रिय व्यापारमा असन्तुलन कायम हुनेछ । शैक्षिक क्षेत्रमा सुधारको योजना बन्न सक्छ । विरोधी र विपक्षी दलहरू सरकार विरुद्ध एकजुट हुनेछन् । महिनाको पहिलो दिन र अन्त्यमा मकर राशिमा पञ्चग्रही योग बन्ने र पूरा महिना चारवटा वा सो भन्दा बढी एकसाथ बस्ने हुँदा प्राकृतिक उपद्रव र जनता आकुल व्याकुल हुने सम्भावना रहेको महिना हो । ठूला नदीमा वा नजिकैको समुद्रमा डुंगा डुब्ने वा अन्य कुनै समस्या आउन सक्छ ।

स्वास्थ्य संस्थामा आन्दोलनको सम्भावना रहेको छ । सीमाक्षेत्रमा आन्दोलन वा उपद्रव बढ्न सक्छ, इन्धन, पेट्रोल, ग्यासको दाममा पनि उतारचढाव रहने छ । महिनाभरि प्रायः सधैं तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्नाले जनजीवन अस्तव्यस्त हुनाका साथै मध्यभागमा हिमाली क्षेत्रमा भारी हिमपात हुने तथा अन्य क्षेत्रमा असिनासहितको वर्षा हुने संकेत छ । महिनाको १, ३, ४, ५, ६, ७, ९, ११, १३, १४, २२, २३, २४ गते वर्षा र बादलको योग रहेका दिन हुन् । विभिन्न घटनाक्रमको आरोह अवरोहमा जनताको जीवनचर्यामा अधिकतरूपमा शुभफल र आंशिक रूपमा केही असामान्यता देखिए पनि माघ महिनालाई सकारात्मक र शुभ महिनाकै रूपमा लिन सकिने छ ।

राशिफल

मेषः  यदि तपाईंको सम्बन्ध मेष राशिसँग रहेको छ भने यस पटक सूर्यले राशि परिवर्तन गर्दा तपाईंको दशम भाव अर्थात् कर्मक्षेत्रमा प्रवेश गर्नेछन् । परिणामतः तपाईंको कार्यक्षेत्र र पद प्रतिष्ठामा वृद्धि हुनेछ । तर यस अवधिमा तपाईंले पारिवारिक जीवनमा तनाव र झन्झट ब्यहोर्ने परिस्थिति पनि बन्नेछ । ग्रहाधिपति सूर्य तपाईंको राशिबाट पाँचौं भावको मालिक हो । दशम भाव अर्थात् कर्मक्षेत्रमा पञ्चमेश सूर्यको गोचर हुनाले बौद्धिक र शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरू र विद्यार्थीहरूका लागि यो समय उत्तम रहने संकेत हो । यस अवधिमा हरेक व्यक्तिले आफूले ताकेका र चिताएका काममा सफलता पाउनेछन् । नोकरी गर्नुहुन्छ भने बढुवा, प्रशंसा वा पुरस्कार पाउनु हुनेछ अथवा चाहेको कार्यालय वा फाँटमा सरुवा हुने वा जिम्मेवारी पाउने समय आएको छ ।

सरकारी क्षेत्रको ठेक्कापट्टा वा कुनै काम गर्नुहुन्छ भने तपाईंले मनग्ये धन लाभ प्राप्त गर्न सक्नुहुन्छ, आर्थिक पाटोका काम सुचारु रहने छन् । यस अवधिमा स्वास्थ्यस्थिति बलियो हुनेछ । मित्र, परिजन र समाजका सम्मानित व्यक्तिहरूसँग उठबस गर्ने मौका मिल्नेछ अथवा यिनीहरूलाई माध्यम बनाएर कुनै महत्वपूर्ण काममा सफलता पाउनु हुनेछ । यो त्यस्तो समय हो, जसमा तपाईंले हातमा लिएको कामले निर्विघ्नताका साथमा पूर्णता पाउने छ । त्यस्तै तपाईंमा भएको शीप वा ज्ञानको प्रयोग गरी गरेको कामबाट नपत्याउँदो सफलता आर्जन हुने समय हो ।

यस अवधिमा तपाईंका सन्तति वा भाइबहिनीले पनि आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्न सक्नेछन् अथवा तपाईंको काममा तिनीहरूको सहयोग मिल्नेछ । मानसम्मानमा बृद्धि हुनेछ । हाकिम दाहिने भएको राम्रो समय छ, ठूलाबडा र सिनियर कर्मचारीको छत्रछाया मिल्ने र सहानुभूति बटुल्ने समय हो । वैदेशिक रोजगारीमा रहनेहरूले कार्यक्षेत्र बदल्ने विचार गर्नुभएको छ भने यस अवधिमा प्रयास गर्नुहोला, सफल बन्नुहुनेछ । यो महिना अझ बढी शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले प्रतिदिन आदित्य हृदय स्तोत्रको पाठ गर्ने वा सूर्य नमस्कार गरेमा अझ धेरै शुभ परिणाम पाउनु हुनेछ । सामान्यतया यस महिनाको ५, ६, ७, १५, १६, २३, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने देखिन्छ ।

वृषः तपाईंको राशिबाट भाग्यस्थान अर्थात् नवौं भावमा सूर्यको प्रवेश भएको छ । यस भावमा बसेको सूर्यले तपाईंको मातृसुख, पत्नीसुख र गृहसुखमा शुभ परिणाम प्रदान गर्नेछ । त्यस्तै भौतिक सम्पत्ति, घरघडेरी र स्थिर पूँजीमा बृद्धि गर्ने महिनाका रूपमा यस महिनाको आगमन भएको छ । यस समयावधिमा सम्मृद्धि र सम्पन्नतामा बृद्धि हुनेछ, अधिकतम समय खुशी, आनन्द र सन्तुष्टिका साथमा व्यतित हुनेछ । नयाँ वाहन खरिद गर्ने वा पुरानो वाहन साटफेर गर्ने मनसाय छ भने तुरुन्त गर्नुहोस्, राम्रो हुनेछ । तर यस अवधिमा छलछाम र ठगी गर्ने कामबाट वा त्यस्तो काम गर्ने व्यक्तिबाट टाढा बसेको जाति हुन्छ, नत्र सुख, सन्तुष्टि र खुशी पाउनुको सट्टा दुःख, बन्धन र तनावको परिस्थिति पनि बन्न सक्छ । सूर्य तपाईंको चतुर्थ भावको मालिक हो ।

नवम भावमा सूर्यको प्रवेश हुनु भनेको घरमा पिता जी वा वृद्ध सदस्यको स्वास्थ्यमा उतारचढाव आउने संकेत हो । त्यसैले यस अवधिमा तपाईंले वहाँहरूको इच्छानुकूल बन्नुपर्छ र सेवा चाकरीमा पनि समय बिताउनु पर्ने हुन्छ । यसै अवधिमा कुनै देवालय वा तीर्थको भ्रमण हुने सम्भावना पनि हुन्छ । यदाकदा बुढाबुढीको मनसाय र आचरण आफू अनुकूल नबनिदिंदा दिक्क मान्ने समय पनि हो । आयको मार्ग सुचारु नै रहे पनि यो समय घरायसी कारणले बढी खर्च गर्नुपर्ने समय हो, त्यसैले आर्थिक संकट झेल्नुपर्ने परिस्थिति छ । यो महिना असाध्यै दौडधूप र व्यस्त रहने समय भएकाले मानसिक रूपले अशान्तसमेत बन्न सक्नुहुन्छ । विदेशमा बस्ने वा वैदेशिक प्रयोजनको काम गर्नेहरूका लागि यो राम्रो समय छ ।

विदेश यात्राको योजना बनाउनेहरूले यस अवधिमा सफलता पाउन सक्नुहुन्छ । व्यापार र व्यवसायमा समय दिन नसक्नाले केही कसर देखा पर्नसक्छ । छोराछोरी वा भाइबहिनीमा खराब संगत र आचरणको नकारात्मक असर पर्न सक्छ । जागिरेले नचाहेको फाँट वा जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ, तर नयाँ नोकरीमा प्रवेश गर्न वा प्रतियोगिता र परीक्षा आदिमा सफलता मिल्ने समय हो । यो महिना अशुभ फलको निवारण होस् र शुभफलमा वृद्धि होस् भन्ने उद्देश्यले तपाईंले हरेक दिन बिहान छिट्टै उठेर उदाउँदो रातो सूर्यबिम्बलाई नांगा आँखाले दर्शन गर्ने बानी बसाल्नुपर्दछ । यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गतेका दिन चन्द्रमाले तपाईंको अशुभ गृहको यात्रा गर्ने दिन हो ।

मिथुनः यो महिना आठौं भाव अर्थात् संकट क्षेत्रमा सूर्यको भ्रमण हुने परिस्थिति छ । त्यसैले यसले तपाईंको व्यक्तिगत जीवन, सामाजिक हैसियत र मानसम्मानमा नकारात्मक असर पर्नसक्छ । दाजुभाइ वा कार्यक्षेत्रमा सहकर्मीहरूसँगको सम्बन्धमा धूमिलता आउने छ । दाम्पत्य सम्बन्ध र प्रेम जीवनमा भ्रम, शंका र तितोपन देखापर्न सक्छ । त्यसैले २७७ सालको माघ महिनाभरि तपाईंले असाध्यै धैर्य र संयम भएर समययापन गर्नुपर्ने हुन्छ । तपाईंका निमित्त सूर्य तृतीय भाव अर्थात् पराक्रम स्थानको मालिक हो र यो महिना सूर्यले अष्टम भावको यात्रा गर्दैछ । त्यसैले यो महिना कुनै पुराना झैझगडा, विवाद वा गोप्य ढंगले गरिएका कामहरू बल्झिने र संकटमा पर्नसक्ने समय हो । यसअघि नियम मिच्ने वा अन्यायपूर्वक धनार्जन गर्नु भएको छ भने यो समय सरकार लाग्ने वा मुद्दामामिलामा परिने भय छ । शत्रु प्रवल हुने समय हो, त्यस्तै रुँघामर्की र खोकीको समस्याले शरीर पनि शिथिल बन्नसक्छ । प्रेम जीवन र दाम्पत्य सम्बन्धमा पनि तनाव र उतारचढावको सामना गर्नुपर्ने हुन्छ । त्यस्तै कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुने समय छ ।

यी र यस्ता नकारात्मक फलको आधिक्य भए पनि जो व्यक्तिहरू विदेशमा हुनुहुन्छ वा वैदेशिक प्रयोजनका काम वा व्यवसाय गर्नुहुन्छ, उहाँहरूका लागि यो उत्तम समय छ । त्यस्तै ज्ञान प्राप्तिको मार्गमा रहेका खासगरी उच्चशिक्षाका विद्यार्थीहरूका लागि र अनुसन्धाताका लागि यो महिना उत्तम रहने छ । त्यस्तै तन्त्र, मन्त्र, ज्योतिष, कर्मकाण्ड, गूढ विद्या, खानी र खनिज पदार्थसँग जोडिएका व्यक्तिले पनि यो समय राम्रो फल प्राप्त गर्नुहुनेछ । जागिरेहरूले कार्यक्षेत्रमा असाध्यै कडा मिहिनेत गर्नुपर्ने समय छ, यस बीच सहकर्मी साथी र प्रतिस्पर्धीले तपाईंलाई होच्याउने, तल पार्ने प्रयास गर्नेछन् वा षड्यन्त्रको तानाबुना रच्न सक्छन्, होस राख्नुपर्छ । हाकिम वा सिनियर कर्मचारीको खप्की खानुपर्ने समय हो । यस्तै, आर्थिक मामिलामा यो कमजोर समय छ, अचानक सिर्जना भएको बाध्यताकारी खर्चले बजेट असन्तुलित बन्न सक्छ । अशुभ फलमा कमी होस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले यो महिना हरेक दिन पिता वा पितातुल्य व्यक्तिको सम्मान र ढोग भेट गरी आशिर्वाद ग्रहण गर्नुपर्दछ, साथै दैनिक विष्णु सहस्रनाम स्तोत्र वा दुर्गा कवचको पाठ गर्नुपर्दछ । यस महिनाको १, २, १, ११, १२, १९, २, २१, २७, २८ र २९ गते जुनसुकै व्यवहार गर्दा सावधान हुने दिन हो ।

कर्कटः माघ महिनामा सातौं भावमा सूर्यको गोचर हुने भएकाले खासगरी दाम्पत्य जीवन, पारिवारिक जीवन र प्रेम सम्बन्धमा यसको नकारात्मक असर पर्नसक्ने समय देखिन्छ । त्यस्तै व्यवसायीहरूले साझेदारीको काममा समस्या उत्पन्न भएको अनुभूति गर्नुहुनेछ । कार्यक्षेत्रमा पनि सूर्यको गोचर सामान्य प्रभाव पार्नसक्छ, त्यस्तै हरेक काम दोहोर्याउनु पर्ने र बन्नलागेको काम अन्तिम घडीमा असफल बन्नाले तपाईंको मन उदास रहने र चिन्ता बढ्ने सम्भावना देखिन्छ । जीवन साथीको स्वास्थ्य वा पद प्रतिष्ठामा पनि केही समस्या उत्पन्न हुनसक्छ ।

वास्तवमा कर्कट राशि हुनेहरूको धनभाव अर्थात् दोस्रो भावको मालिक हो, सूर्य र माघ महिनाभरि यसले सप्तम भावको भ्रमण गर्नेछ । अतः सूर्यको यस भावको गोचरले आपसी सम्बन्ध र पारिवारिक जीवनमा केही समस्या उत्पन्न गरे पनि धनागम र आयको मार्गमा उत्तम फल प्रदान गर्नेछन् । जीवन साथीको कार्यक्षेत्रमा प्रगति हुने र उनका माध्यमबाट प्रशस्त धनागम हुने संकेत छ । स्त्रीहरूले माइतीपक्षबाट र पुरुषहरूले ससुराली पक्षबाट आर्थिक लेनदेन गर्नुपर्ने हुन्छ । वैदेशिक प्रयोजनको काम र विदेशमा बस्नेहरूका लागि समय सामान्य रहने छ, तर यो महिना काममा भन्दा पनि भ्रमण, पर्यटन र घुमघाममा रूचि बढ्ने समय हो । स्वास्थ्यका दृष्टिकोणले प्रजनन स्वास्थ्य, मूत्र प्रणाली र पेटको रोगले सताउन सक्छ ।

तपाईंले अहिले पति वा पत्नीको अनुकूल व्यवहार गर्ने प्रयास गर्दा बढी फलदायी र सकारात्मक हुनेछ । नोकरीमा संलग्न व्यक्तिले सहकर्मीका कुरा सुनेको राम्रो हुन्छ, त्यस्तै व्यापारीहरूले साझेदार पार्टी वा व्यक्तिको भावना र संवेदनालाई विचार पुर्याउनु ठीक हुन्छ । समग्रतामा संयमताका साथमा समय यापन गर्न जानिएन भने यो महिना तनाव र बोझ वृद्धि गर्ने समय सावित हुन सक्छ, होस राख्नुपर्छ । यो महिना प्राप्त हुने शुभफलमा अझ बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले तामाको पात्रमा मह वा चिनी, रातो फूल र गंगाजल मिसाएर दिनहुँ उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गर्नु राम्रो हुन्छ । यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३ गते तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने हुँदा सचेतना अपनाउनु उचित हुनेछ ।

सिंहः सूर्य तपाईंको राशिस्वामी हो । यस महिनामा सूर्यले छैटौं भावको भ्रमण गर्दैछ । यसलाई केही पक्षमा शुभ र केही पक्षमा अशुभ फल भएको समय मान्न सकिन्छ । खासगरी यस अवधिमा तपाईंको जन्मकुण्डलीमा शनि, राहु वा कुनै अशुभ ग्रह वा योगिनीको समय चलिरहेको छ भने व्यक्तिगत स्वास्थ्यप्रति चनाखो हुनुपर्छ । त्यस्तै झैझगडा, मुद्दामामिला र विवाद जस्ता विषयले पनि तपाईंलाई चिन्ताग्रस्त तुल्याउने छ । यस्तै सन्तानको उन्नति र प्रगति वा स्वास्थ्यस्थितिसमेत चिन्ताको विषय बन्नेछ । छोराछोरीको संसर्गमा रहने वा घरपरिवारमा नै बसेर अधिकतम समय बिताउने वा ध्यान दिनुपर्ने वेला हो । तर गोचरफल प्रकरणमा छैटौं भावमा बसेको क्रुर ग्रहको असाध्यै शुभ र सकारात्मक फल बताउने गरिन्छ ।

जस्तै कुनै पनि परीक्षा वा प्रतिस्पर्धाको तैयारी गरिरहेका व्यक्तिहरूका लागि यो समय उत्तम समय हो । त्यस्तै सरकारी नोकरीको प्रयासमा रहेका वा बढुवा वा पुरस्कारको आशामा रहेका व्यक्तिहरूका लागि पनि शुभ परिणाम मिल्नेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । मुद्दामामिला र अदालती काममा सफलता पाइने छ । यस भावमा बसेको सूर्यको बाह्रौं भावमा समेत पूर्ण दृष्टि हुने हुँदा विदेशमा बस्ने वा वैदेशिक रोजगारी गर्नेहरूले आफ्नो कमाइको केही अंश दानधर्म र परोपकारी काममा लगानी गर्नेछन् । तर बाध्यताकारी र पारिवारिक खर्चको मात्रामा पनि बृद्धि हुनेछ ।

यस्तै, कार्यक्षेत्रमा असाध्यै कडा मिहिनेत गर्नुपर्ने र दौडधूप गर्ने समय हो । सुरुमा सानातिना रोगव्याधि र चोटपटकलाई वास्ता नगर्नाले पछि स्वास्थ्यजन्य ठूलै कष्ट बेहोर्नुपर्ने परिस्थिति बन्नसक्छ, होस राख्नुहोला । राजनैतिक र सामाजिक क्षेत्रका व्यक्तिहरूले इच्छाएको परिणाम पाउने छन् । मावल जाने वा मावलीको निम्तोमा कुनै पारम्परिक वा धार्मिक कृत्यमा सहभागी हुने अथवा खट्ने परिस्थिति बन्नेछ । कुनै अन्यायको विरोध गर्न, हक र अधिकारको लडाइँमा संलग्न हुन र मुद्दामामिला गर्न अनुकूल समय छ । महिनाभरि ग्रहहरूको अनिष्टता नहोस् भन्ने उद्देश्यले तपाईंको राशिस्वामी सूर्यको रत्न माणिक्य आइतवारको दिन पारेर धारण गरेको जाति हुन्छ । यस महिनाको ५, ६, ७, १५, १६, २३, २४ र २५ गते तपाईंले सावधान र सतर्क रहनु पर्ने दिन हो ।

कन्याः बाह्रौं भाव अर्थात् व्यय क्षेत्रको मालिक सूर्यले यस महिनामा विद्या, बुद्धि, छोराछोरी र प्रेम भाव जनाउने पाँचौं भावमा भ्रमण गर्नेछ । त्यसैले तपाईंका लागि यो महिना उत्सुकता र व्याकुलता बढ्ने समय हो । सँगीसाथी र सहकर्मीले बाचा पूरा गर्न सक्दैनन् । सन्तान र भाइबहिनीको स्वास्थ्य वा उन्नति प्रगतिमा अवरोध हुनेछ । वैदेशिक रोजगारमा रहेका वा देशमै बसेर वैदेशिक प्रयोजनको काम गर्ने व्यक्तिहरूले भने यो महिना अकुत सम्पत्ति कमाउने योग छ ।

प्रोजेक्ट वा मल्टिनेशनल कम्पनीमा काम गर्ने व्यक्तिको बढुवा हुने वा पुरस्कार लाभ गर्ने समय हो । तर नियम र कानून मिच्नाले वा कुनै सरकार विरोधी क्रियाकलापमा संलग्न हुनाले बन्धनमा वा मुद्दा मामिलामा पर्न सकिने कमजोर समय पनि हो, त्यसैले यसप्रति चनाखो र सतर्क हुने परिस्थिति रहेको देखिन्छ । गैरकानूनी क्रियाकलाप र व्यवहारमा सावधानी अपनाउनु पर्नेछ । कुनै पनि झैझगडा, विवाद वा झमेलाबाट जोगिनुपर्ने समय हो । शिक्षा दीक्षालाई आधार बनाएर विदेश जाने वा विदेशको विश्वविद्यालयमा प्रवेश पाउने लक्ष्य कार्यान्वयन हुनेछ । यस अवधिमा प्रेमीको भावना र संवेदनाप्रति सचेतता अपनाउनु पर्छ, नत्र प्रेम र दाम्पत्यजीवनमा उतारचढाव आइरहने छ ।

प्रेमी-प्रेमिका वा पतिपत्नीका बीचमा ठास्सठुस्स र घुर्क्याई बढ्ने समय भएकाले एकापसको दूरीलाई नजिक्याउन कोसिस गर्नु ठीक हुन्छ । विद्यार्थीहरूको मनोवृत्ति मनोरञ्जन र खेलवाडमा केन्द्रित हुनाले पढाइ बिथोलिने समय हो । यो महिना कुनै पनि अशुभ फल प्राप्त नहोस् भन्ने मनसायले तपाईंले यस महिनाको कुनै आइतवारका दिन भगवान् सूर्यको वा भगवान् नारायणको मन्दिरमा गई रातो कपडा दान गर्नु राम्रो हुन्छ । यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गतेका दिन नकारात्मक फल प्राप्त हुने दिन हो ।

तुलाः माघ महिनामा चौथो भावमा सूर्यको भ्रमण हुने गर्दछ, जुन तपाईंका लागि मिश्रित प्रभावको भाव हो । यस अवधिमा घरका महिलाको स्वास्थ्यस्थितिमा उतार चढाव आउन सक्छ । त्यस्तै यो बढी दौडधूप गर्नुपर्ने र पारिवारिक सुखको अभाव हुने समय पनि हो । अझ यस अवधिमा कृषक वा कृषिक्षेत्रको कारोबार गर्नेहरूले बढी सावधान हुनुपर्छ । तपाईंका निमित्त सूर्य एघारौं भाव अर्थात् लाभ भावको मालिक हो । परिस्थिति विपरीत भए पनि घरायसी सम्पत्तिको व्यवस्थापन गर्ने क्रममा केही न केही लाभ हुनेछ । जग्गाजमिन खरिदबिक्री गर्दा फाइदा लिन सक्नुहुन्छ ।

यस्तै लिजमा गरिने काम, माटो, सिमेन्ट, गिट्टी, ढुंगा आदिका व्यवसायीले पनि लाभ पाउने छन् । घर बाहिर बस्नेले घर वा वाहन खरिद गर्ने समय हो । कर्मचारीहरूले सँगीसाथीको मद्दत लिएर वा जागिरको सहयोग वा ऋण सापटीबाट स्थिर सम्पत्ति जोड्ने मौका पाउनेछन् । यस अवधिमा व्यक्तिगत स्वास्थ्यप्रति खेलाँची गर्नु हुँदैन, किनभने पुराना रोगव्याधि वा लामो समयदेखि चलिआएको बिमारीले सताउने सम्भावना देखिन्छ । घरभित्रका काममा वा स्याहार सम्भार गर्ने क्रममा धन खर्च हुन सक्छ ।

समय पेचिलो भए पनि यो महिना भगवान् सूर्यनारायणको कृपा प्राप्त भइरहनाले कुनै पनि काममा बाधा वा अवरोध हुनेछैन । दाजु र दिदीसँग बिग्रिएको सम्बन्धमा सुधार आउनुका साथै परिआएको काममा सरसहयोग प्राप्त हुनेछ । पारिवारिक जमघट हुने कुनै उत्सव वा कार्यक्रमको आयोजना हुनेछ । सामान्यतया शुभ समय नै छ, यद्यपि अझ धेरै शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले हरेक आइतवारका दिन रातो साँढेलाई गुड र चामल मिसाएर खुवाउँदा राम्रो हुनेछ । सामान्यतया यस महिनाको १, २, १, ११, १२, १९, २, २१, २७, २८ र २९ गते अनिष्ट फल प्राप्त हुने सम्भावना छ ।

वृश्चिकः यो महिना तृतीय भाव अर्थात् पराक्रम स्थानमा सूर्यको गोचर हुने समय हो । त्यसैले आँटे ताकेका र चिताएका हरेक काममा शुभफल प्राप्त हुनेछ । कार्यक्षेत्रमा उन्नति प्रगति र मानसम्मान मिल्ने समय छ । पुराना समस्या वा रोगबाट निदान पाउने समय हो । तर याद गर्नुहोला, यस अवधिमा कुनै पनि काम अर्काको जिम्मामा छाड्नु उचित हुँदैन, आफू सक्रिय भएर वा सामुमा बसेर काम गर्ने बानी बसाल्नुपर्छ, नत्र बन्न लागेको काम पनि बिग्रन सक्छ । सूर्य तपाईंको दशौं भाव अर्थात् कर्म क्षेत्रको मालिक हो । त्यसैले यस समयावधिमा व्यक्तित्वको विकास हुनेछ ।

जागिरेले बढुवा र प्रशंसा पाउने छन् । कारोबारी र व्यापारीहरूले कार्यक्षेत्रको विस्तार गर्नुका साथै मनग्ये लाभ प्राप्त गर्नेछन् । छात्रछात्राले पठनपाठन र अतिरिक्त क्रियाकलापमा राम्रो गर्नेछन् । त्यसैले हरेक व्यक्तिका लागि यो महिना गरेका प्रयासको समुचित परिणाम प्राप्त गर्ने समय हो । स्वास्थ्य लाभ हुनेछ, शरीरमा उत्साह र उमंगको बृद्धि हुनेछ । सँगी, साथी र मित्र मण्डलीमा आफ्नो साख र वर्चस्व कायम हुनेछ । सन्ततिले पनि सुख र सन्तुष्टि प्रदान गर्नेछन् ।

यी शुभफल भए पनि यस अवधिमा भाइ वा बहिनीको व्यक्तित्व वा आचरणमा कुनै समस्या देखिन सक्छ । यस्तै, जागिरेले कार्यालयमा सहकर्मी वा जुनियरहरूको साथ पाउन सक्दैनन् । त्यस्तै आफ्नै बलबुता र निर्णयमा अघि बढ्ने महिना हो, माघ महिना । यो महिना शुभफलमा अझ बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले आफ्नो दाहिने हातको नारीमा रातो धागो छ फन्का घुमाएर धारण गरेमा शुभ हुनेछ । यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३ गते तपाईंका लागि अशुभ रहने छन् ।

धनुः मकर राशि तपाईंको राशिबाट दोस्रो घर अर्थात् धनस्थान हो । यसै भावमा माघ महिनाभरि भाग्यपति भगवान् सूर्यनारायणको आगमन हुँदैछ । धनागमको बाटो सहज हुनेछ । पुराना लेनदेन र बाँकी बक्यौताको उठ्ती हुने महिना हो, माघ महिना । व्यवसाय र कारोबारमा विस्तार गर्न सकिने छ । कर्मचारी र जागिरेले फाइदा हुने फाँट वा कार्यालयमा सरुवा हुने अनुकूलता पाउनेछन् । यस अवधिमा मुख छुच्चो हुनेछ, त्यसैले महिनाभरि आफ्नो बोलीमा नियन्त्रण गरेको र शब्दशब्द तौलेर बोलेको जाति हुन्छ । घर परिवारमा हुने भनाभन वा विवादमा आफूलाई मौन राख्नु नै ठीक हुनेछ । सन्तुलित आहारा र नियमित व्यायामप्रति रूचि राख्नुहोला, बासी, सँडेगलेको र चिसो भोजनलाई बन्देज नलगाएमा छाती र पाचन तन्त्रीको रोग ब्यहोर्नुपर्ने समय हो । यस अवधिमा चेलीबेटी र कुटुम्बको समस्या र काममा खट्ने वा सहयोग गर्ने परिस्थिति बन्नेछ । पुरुषले ससुराली पक्षको र स्त्रीले माइती पक्षको निम्तोमा जानुपर्ने वा सहयोग लिने परिस्थिति बन्न सक्छ ।

पिताजी पनि व्यवसाय वा जागिरमा सक्रिय हुनुहुन्छ भने उहाँको कार्यक्षेत्रमा उन्नति हुनेछ, तपाईंले पनि पिताको सल्लाह, सहानुभूति र सहयोगबाट गरेको काममा लाभ पाउन सक्नुहुन्छ । जागिरेहरूले योग्यता र पहुँचमा विस्तार गर्नेछन् । रोकिएका काम बन्नेछन् । व्यापारीहरूले नयाँ कारोबार वा सेयर बजारमा लगानी बढाउने वेला हो । यस महिना ग्रहजन्य अशुभ प्रभाव नपरोस् भन्ने मनसायले तपाईंले प्रत्येक दिन भागवत वा गीताको पाठ गर्ने वा दैनिक रूपमा तुलसीपत्रले भगवान् विष्णुको आराधना गरेमा शुभफलको प्राप्ति हुनेछ । चन्द्र गोचरलाई विचार गर्दा यस महिनाको ५, ६, ७, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि नकारात्मक रहन सक्छन् ।

मकरः तपाईंको राशिमा पहिलेदेखि नै बुध, बृहस्पति र राशिस्वामी शनिश्चरको उपस्थिति छ । अब यो माघ महिनाभरि भगवान् सूर्य नारायणले पनि तपाईंको लग्नको भ्रमण गर्नेछन् । यो महिना शिरमा क्रूर ग्रहको आगमन भएकाले चिन्ता बढ्न सक्छ, पाचन तन्त्री सम्बद्ध समस्याले स्वास्थ्य प्रभावित हुन सक्छ, सचेत हुनुपर्छ वास्तवमा सूर्य तपाईंको राशिको अष्टम भाव अर्थात् संकट क्षेत्रको स्वामी हो र अहिले तपाईंको राशिमा भ्रमण गर्ने हुँदा यस अवधिमा निकै सावधान र सतर्कताका साथमा काम निकाल्नुपर्ने हुन्छ । घरिघरि मानसिक चिन्ता बढ्ने परिस्थिति बन्नेछ, त्यसैले संयम, धैर्य र शान्त बन्ने प्रयास गर्नुहोला । 

यस अवधिमा तपाईंले अचानक यात्रा गर्नुपर्ने हुन्छ, साथै कुनै नजिकैको मित्र वा आफन्तसँग मनमुटाव र विवादको सम्भावना पनि देखिन्छ । त्यस्तै पुरानो विद्या, कर्मकाण्ड, तन्त्रमन्त्र वा अनुसन्धानमूलक कामप्रति लगाव बढ्ने छ । धनधान्यको स्थिति अनुकूल नै देखिन्छ, साथै रकम व्यवस्थापन गर्ने र दूरगामी प्रयोजनका लागि धन लगानी गर्ने परिस्थिति पनि बन्न सक्छ । आध्यात्मिक र परोपकारी भावनाको विकास हुने महिना हो, माघ महिना । यो महिना ग्रहजन्य अशुभ प्रभावको निवारण होस् भन्ने उद्देश्यले तपाईंले कुनै आइतवारका दिन सेतो आँकको फूल भगवान् शिवलाई अर्पण गरेमा शुभतामा बृद्धि हुनेछ । यस महिनाको ७, ८, ९, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भः मकर राशि तपाईंकै राशि स्वामी शनिश्चरको अर्को घर हो र यस राशिले तपाईंको बाह्रौं भावसँग सम्बन्ध राखेको हुन्छ । यसै राशिमा माघ महिनाभरि भगवान् सूर्य नारायणको गोचर हुनेछ । त्यसैले यस अवधिमा तपाईंले घरबाहिर जानुपर्ने वा वैदेशिक यात्रा अथवा तीर्थयात्रामा निस्कने परिस्थिति बन्नेछ । सूर्य तपाईंको राशिको सप्तम भावको मालिक भएकाले यस अवधिमा जीवन साथीसँग तनाव हुने वा उनको स्वास्थ्यस्थितिमा प्रभाव पर्ने सम्भावना हुन्छ । घरपरिवार र सन्तानका विषयमा एकआपसमा विवाद र मतभेद हुने साथै तनाव बढ्ने परिस्थिति पनि बन्न सक्छ । यो समय परिस्थिति र बाध्यताले सिर्जना गर्ने खर्चमा अत्यधिक बृद्धि हुने समय हो । लेनदेनको पुरानो कारोबार छ भने तपाईंले यस अवस्थामा अड्डा अदालत धाउने परिस्थितिसमेत बन्न सक्छ । 

यस्तै, पारम्परिक र धार्मिक क्रियाकलापमा पनि खर्च गर्नुपर्ने हुन्छ । यस अवधिमा चिसो र आँखा सम्बन्धी रोगले सताउने संकेत छ । कामधन्दा र व्यवसायमा सामान्य समय छ, नियमित आम्दानीमा अवरोध हुनेछैन, तर पनि खर्च व्यवस्थापन गर्न हम्मेहम्मे पर्नेछ । खासगरी विदेशमा बस्ने वा वैदेशिक प्रयोजनको काम गर्ने व्यक्तिका लागि यो समय लाभमूलक रहने छ । लामो समयदेखि विदेश यात्राको इच्छा सँगाल्नु भएको छ भने अब प्रयास गर्नुहोस्, लाभ हुनेछ । यो महिना देखिएका नकारात्मक फलको कमी होस् भन्ने उद्देश्यले तपाईंले भगवान् विष्णुको भक्ति आराधना गर्नुहोस्, साथै हरेक आइतवारका दिन गुड मिसाएर बनाएको लड्डु भोग लगाएर प्रसाद वितरण गरेमा शुभफल प्राप्त हुनेछ । यस महिनाको १, २, १, ११, १२, १९, २, २१, २७, २८ र २९ गतेका दिन कमजोर समय हुनेछ ।

मीनः मकर राशि तपाईंको राशिबाट एघारौं भावमा पर्दछ, जसलाई राज्य, लाभ र प्रतिष्ठाको भाव मान्ने गरिन्छ । यसै भावमा माघ महिनाभरि भगवान् सूर्यको गोचर हुनेछ । यसअघि नै तपाईंको राशिस्वामी बृहस्पति, लाभेश शनिश्चर र सप्तमेश बुधले यसै भावमा उपस्थिति जनाएका छन् । त्यसैले यो महिना तपाईंको भाग्य र प्रतिष्ठा वृद्धिको महिना हो । एकातिर यसले तपाईंको लाभ र आयको मार्ग विस्तार गर्नेछ भने अर्कोतर्फ आयमा अचानक ह्वात्तै बृद्धि गराउन सक्छ । सूर्यको प्रभावले सिनियर कर्मचारी, हाकिम, दाजु, दिदी, जानकार र अनुभवी व्यक्तिसित उठबस हुने तथा सहानुभूति र सहायता प्राप्त हुने महिना हो माघ महिना । सामाजिक हैसियत र मानसम्मानमा बृद्धि हुनेछ । महत्त्वाकाङ्क्षा र अभिलाषाको परिपूर्ति हुनेछ । जागिरेको तलवमानमा बृद्धि हुनसक्छ, साथै प्रशंसा वा पुरस्कारको योग बनेको छ । 

लामो समयदेखि अड्किएका प्रशासनिक वा कानूनी कामले गति समात्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ, झैझगडाको क्षेत्र, मुद्दा फाँट वा अड्डा अदालतमा संलग्न रहेर कुनै काम गर्नुहुन्छ भने तपाईंले यो महिना झन् धेरै कमाउने परिस्थिति बन्नेछ । खेलकुद र प्रतिस्पर्धात्मक काममा संलग्न व्यक्तिले नचिताएको उपलब्धी हासिल गर्ने समय हो । हुन त सूर्य तपाईंको छैटौं भाव अर्थात् रोग र शत्रुको घरको मालिक हो । त्यसैले यस अवधिमा तपाईंले सरकार विरोधी काम वा छलछाम अथवा चोर वुद्धिको त्याग गरेको जाति हुन्छ, नत्र प्रशासनिक कारबाहीमा वा दण्ड जरिवानामा पर्ने सम्भावना पनि छ । यो महिना कुनै पनि अनिष्टता वा नकारात्मक फल प्राप्त नहोस् भन्ने मनसायले तपाईंले हरेक आइतवारका दिन चना र गुड मिसाएर गाईलाई खान दिएमा शुभफलमा बृद्धि हुनेछ । यस महिनाको २, ३, ४, १२, १३, १४, २१, २२, २३ र ३ गतेका दिन तपाईंका लागि कुनै महत्वपूर्ण र निर्णयात्मक काम गर्न प्रतिबन्धित दिन हुन् ।