आमा बनिन् प्रियंका चोपडा

माघ ८, २०७८ शनिबार

पोखरा। बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले इन्स्टाग्रामबाट आफू आमा बनेको जानकारी दिए पनि छोरा या छोरी के जन्मियो भन्ने केही खुलाएकी छैनन् ।

‘यो कुरा बताउँदा हामी खुशी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनीयतालाई ध्यान दिनुहोला’, उनले लेखेकी छन् ।

सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् ।

यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।

-दैनिक भास्कर