तनहुँको खानीगाउँबाट ३ करोडको सुन्तला विक्री

माघ ८, २०७८ शनिबार

फाइल तस्वीर

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-२, खानीगाउँका कृषकले यस वर्ष सुन्तला विक्री गरेर गाउँमा रु तीन करोड भित्र्याएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषकले यस वर्ष सुन्तला विक्री गरेर रु तीन करोड आम्दानी गरेका हुन् ।

तीन दशक अगाडीसम्म बाँझो पाखोको रुपमा रहेको यस ठाउँ अहिले सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ । मिहीनेत गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण त्यहाँका किसानले प्रस्तुत गरेका छन् ।

त्यहाँका विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला विक्री गरेर रु ८५ लाख आम्दानी गरेका छन् । रालो जमिनलाई उपयोग गरेर सुन्तला खेती गरेका उनीहरुले पछिल्लो समय मनग्य आम्दानी लिन सफल भएका हुन् । 

जिल्लाका विभिन्न स्थानमा सुन्तलामा रोग लागे पनि यस ठाउँमा भने सुन्तला उत्पादनमा कमी नआएको विश्वबहादुरले बताए । सुन्तलामा विभिन्न भाइरसले पछिल्लो समय सङ्क्रमण आए पनि खानीगाउँका सुन्तलामा व्यवस्थापनमा कृषकले उचित ध्यान दिएको उनले बताए ।

स्थानीयवासी सुकनारायण श्रेष्ठ, रामबहादुर अधिकारी लगायतले सुन्तला विक्री गरेर मनग्ये आम्दानी गर्दै आएका छन् । 

त्यहाँका कृषकले वर्षेनी लाखौं मूल्य बराबरको सुन्तला विक्री गर्ने गरेको श्रेष्ठले बताए । म्याग्देको खानीगाउँमा कृषकले गरेको सुन्तला खेती उदाहरणीय रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

उनका अनुसार जिल्लामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्ष जिल्लामा आठ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

उत्पादितमध्ये धेरै सुन्तला जिल्लाबाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौं, पोखरा, नारायणगढ लगायतका ठाउँमा विक्री हुने गरेको छ ।

यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमासमेत यहाँको सुन्तला विक्री हुने गरेको किसानहरु बताउँछन् । 

यस वर्ष जिल्लाबाट रु २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ । सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । 

तनहुँमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका-२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।

व्यास नगरपालिका-११ तनहुँसुर, वडा नम्बर १३ को बेनीकोट, देवघाट गाउँपालिका-२, ३ र ४, आँबुखैरेनी गाउँपालिका-२ पतेनी, शुक्लागण्डकी नगरपालिका-११ राइपुर, भीमाद नगरपालिका-९ भानुमति लगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । -रासस