‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक

फागुन ५, २०७८ बिहीबार

काठमाण्डौं  । ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियो काठमाण्डौंमा एक कार्यक्रम गरि सार्वजनिक भएको छ । जिबी आग्रीद्वारा निर्देशित ‘हजुर मुसुक्कै’ गीतको म्युजिक भिडियोमा नेपालको बाइसे-चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यका राजामा आएको परिवर्तनको कथा भन्न खोजिएको छ ।

महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंहले १२ बर्षपछि संगै सहकार्य गरेका हुन्। दुवैले ‘हजुर मुसुक्कै’ बोलको गीतको म्युजिक भिडियोमा संगै सहकार्य गरेका हुन् ।

गायक गायिका कृष्ण विक र रचना रिमालद्वारा गाइएको उता हजुर मुसुक्कै यता यो ज्यान भुसुक्कै बोलको गीतमाथि काल्पनिक तर इतिहासका सयौं घटनासँग मेल खाने कथामा बनेको सांगीतिक भिडियो कथा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

राजा र राजकुमारसँगको अन्तर्जातीय प्रेमकथा र त्यसमा लुकेको रहस्यमाथि तयार पारिएको सांगीतिक भिडियो कथामा उँच–निच र जातपातका भेदभावलाई अन्त्य गर्न एक राजाले गरेको प्रयासको कथा बुनिएको छ।

१५ मिनेट लामो भिडियो कथामा अभिनेता राजेश हमाललाई राजाको रूपमा प्रस्तुत गरिएको छ भने उनका साथमा निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्स विश्वकर्मा, सन्तोष मग्राती मुख्य भूमिका तथा श्रीराज विक्रम पाण्डे र श्रेया सापकोटा बाल भूमिकामा छन्। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा रचना रिमाल र कृष्ण विकको स्वर रहेको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले कला क्षेत्रले समाजमा रहेको अन्धबिश्वासलाई हटाउन महत्वपूर्ण टेवा पुगेको बताए । उनले राज्यबाट यस क्षेत्रको संरक्षण र प्रवर्दनमा बिशेष जोड दिने बिश्वास दिलाए । कार्यक्रम सञ्चालन चर्चित सञ्चारकर्मी सञ्जोग बस्यालले गरेका थिए ।

हेरौं भिडियो