वर्ल्डलिङ्कले काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट गर्ने

चैत १०, २०७८ बिहीबार

पोखरा । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’ का निर्मल पुर्जाको उपस्थितिमा नेपालको बिभिन्न शहरहरुमा कन्सर्ट आयोजना गर्ने भएको छ ।

कम्पनीले चैतको १० गते चितवन र १२ गते पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो ।

हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ । 

वर्ल्डलिङ्कको मुख्य प्रायोजनमा नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने निशुल्क रुपमा कन्सर्ट हुनेछ ।

त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ । चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्माको गायन प्रस्तुती रहनेछ ।

चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ को कन्सर्ट बिहान ११ बजेदेखि सुरु हुने र दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने जानकारी वर्ल्डलिङ्कले जनाएको छ ।

काठमाडौंमा हुने कन्सर्टमा स्वप्न सुमन, सविन राई एन्ड फ्यारो संगै बिनु शाक्यको नृत्य र सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ ।

पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश रहने छन् ।

काठमाण्डौं र पोखराको कन्सर्ट बेलुकी ८ बजेसम्म चल्नेछ ।

‘वर्ल्डलिङ्क कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत रहनेछन् । पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।