ट्रकको ठक्करबाट धनबहादुरको मृत्यु, ट्रक चालक फरार

बैशाख २८, २०७९ बुधबार

इलाम । इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका-४ घर भई इलाम नगरपालिका-९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् ।

मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।

घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।