दिल्ली क्यापिटल्स विजयी

बैशाख २९, २०७९ बिहीबार

पोखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थान दिल्लीसँग ८ विकेटले पराजित भएको हो । राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेटको क्षतिमा भेट्टाएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो । यो जितसँगै पाँचौ स्थानमा पुगेको दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ ।

राजस्थान १२ खेल खेल्दा १४ अंकसहित तेस्रो स्थानमा छ । आईपीएलमा आज बिहीबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

लिग तालिकामा ८ अंकसहित चेन्नई पुछारबाट दोस्रो र ४ अंकमात्र जोडेको मुम्बई तालिकाको अन्तिममा छ ।