रामा यादव पत्रकारिता पुरस्कार पोखराकी अनिशा श्रेष्ठलाई

बैशाख २९, २०७९ बिहीबार

पोखरा । रौहतटको रेड टेलिभिजनका संस्थापक रामा यादवको सम्झनामा स्थापित रामा यादव पत्रकारिता पुरस्कार पोखराकी अनिशा श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

श्रेष्ठ पोखरास्थित सिटीवान टेलिभिजनकी प्रबन्ध निर्देशक हुन् । पोखरामा रहेर एक दशकदेखि पत्रकारिता गरिरहेकी श्रेष्ठ नेपाल प्रेस युनियन कास्कीकी कार्यसमिति सदस्य पनि हुन् ।

यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । लामो समय सञ्चार क्षेत्रका कार्य गर्दै आएकी यादवको सम्झनामा उनका श्रीमान जयप्रकाश यादवले पुरस्कार स्थापना गरेका थिए ।

संस्थाको बिहीबार सम्पन्न बैठकले श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको रेड टेलिभिजनले जनाएको छ । पुरस्कारको राशि २६ हजार १ रुपैया रहेको बताइन्छ ।