बैशाख ३०, २०७९ शुक्रबार
पोखरा । देशकै ठूलो महानगरपालिका पोखरामा करिब ६० प्रतिशत मात्र मत खसेको छ । पोखराका दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा ६० प्रतिशतले मतदान गरेको बताइएको छ ।
अघिल्लो निर्वाचनमा पोखरामा एक लाख ६८ हजार मतदातामध्ये एक लाख २५ हजार ८५३ अर्थात ७४ प्रतिशत खसेको थियो ।
शुक्रबार मतदान सम्पन्न भएसंगै मतपेटिका आउनेक्रम शुरु भैसकेको र राति १२ बजेसम्म सबै मतपेटिका संकलन भइसक्ने प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना शुरु हुनेछ । न्यौपानेका अनुसार कास्कीमा शान्तिपूर्णरुपले निर्वाचन सम्पन्न भएको छ ।
पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलमा मतगणना हुने बताइन्छ ।
पोखरा महानगरको निर्वाचनको अन्तिम परिणाम आउन करिब १५ दिन लाग्ने अनुमान गरिएको छ । यस पटक गठवन्धनको मत गन्न केही अफ्ठ्यारो रहेकाले मतगणना केही ढिलो हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।