मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लामा विजयी

बैशाख ३१, २०७९ शनिबार

पोखरा । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । विजयी लामाले १५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् । ४८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।

कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई अध्यक्षमा चुनाव लड्न टिकट दिएका थिए । 
गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नार्पाभूमि गाउँपालिका वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् । यस्तै, वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मतका साथ विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याएका छन् । वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत र स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले ४ मत ल्याएका छन् ।
वडा नं. ४ को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा र वडा नं. ५ को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भएका छन् । दुवैजना एमाले समर्थित हुन् ।