पोखरामा राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगिता हुने

जेठ ११, २०७९ बुधबार

पोखरा । लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७५औं जयन्तीको अवसरमा राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगिता हुने भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरामा साउन १२ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । कार्यक्रम पोखरा सभागृह हलमा हुनेछ ।

शेरचनको प्रिय विधा लोकदोहोरी भएकाले लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको बताइन्छ । प्रतियोगिताका लागि ईन्द्रेणी सांस्कृतिक विकास केन्द्रले साथ दिने भएको छ ।

यस्तै, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान लगायतकना संघसंस्थाले पनि प्रतियोगितामा सहकार्य गर्ने बताइएको छ ।  

प्रतियोगिताको आम्दानीबाट शेरचनको शालिक बनाउने योजना रहेको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले जानकारी दिए । शेरचनको ७५ औं जयन्तीका अवसरमा हुने राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगिताको प्रचार-प्रसारका लागि शेरचनको जन्मथलो मुस्ताङको ईन्द्रेणी समूहसहितका साँस्कृतिक अभियानसमेत गरिने अध्यक्ष ह्योल्मोले बताए ।

प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा बिष्टले सक्दो सहयोग गर्ने भएका छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि प्रतिष्ठानले विभिन्न १० उपसमिति गठन गरेको सचिव जीवन दाहालले जानकारी दिए।

शेरचनको जयन्तीमा यसअघि काठमाडौं र पोखरामा खुला मादल बादन प्रतियोगिता, सारङ्गी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता भएका थिए ।