चितवनमा असिनाले तरकारी र मकै बाली नष्ट, अनिकाल लाग्ने भन्दै कृषक चिन्तित

जेठ १२, २०७९ बिहीबार

फाइल तस्वीर

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पुर्याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको  बालीमा  क्षति पुर्याएको हो ।

बेच्ने बेला भएको तकारी बाली असिना पानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु एक लाख ५० हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको बताए ।  

एकदिन अघि मात्र केही काँक्रो बेच्न भ्याएका प्रजाले धेरैजसो बाँकी रहेको काँक्रो असिना पानीले नष्ट गरिदिएको दुःखेसो पोखे । 
उनले भने, “हिजो मात्र केही बेचेँ धेरैजसो काँक्रो बेच्न बाँकी  नै  थियो,  सबै नष्ट भयो, बेच्ने बेला  भएको काँक्रो, बोडी, सिमी र खुर्सानी  गरी रु एक लाख ५० हजार बढी मूल्य  बराबरको तरकारी बाली नष्ट भएको छ ।”

कृषक प्रजाका अनुसार मायाटार र दुम्किम गाउँमा रहेका ४५ घरधुरीमध्ये २५ भन्दा बढी परिवारले तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आएका किसान चिन्तित बनेका  छन् । असिना पानीले मकै बाली पनि नष्ट गरेकाले चाँडै अनिकाल लाग्ने उनले बताए । 

प्रजाले भने,  “राम्रोसँग मकै खेती हुँदा छ महिनासम्म खान पुग्थ्यो तर यस पटक चाँडै अनिकाल लाग्ने भयो, घोगा लागेको धेरैजसो मकै नष्ट भएको छ, दुई महिनामै अनिकाल लाग्ने भएको छ ।” गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले अहिलेसम्म गाउँपालिकाभरका किसानले लगाएको तरकारी र मकैबालीमा असिना पानीले कति क्षति पुर्यायो भन्ने  तथ्याङ्क आइनसकेको बताए । 

अहिले कहाँ कति क्षति भयो किसानसँग सम्पर्क गर्ने काम भइरहेको उनको भनाइ थियो । शाखा प्रमुख घिमिरेले गाउँपालिकाले बजेटको व्यवस्था गर्दा पनि किसानले तरकारी बालीको बीमा गर्न रुचि नदेखाउँदा समस्या भएको बताए । तरकारी बालीका लागि प्रक्रिया झझन्टिलो हँुदा बीमा गर्न किसान र बीमा कम्पनीले नै चासो नदेखाएको उनले जानकारी दिए ।

शाखाप्रमुख घिमिरेले भन्नुभयो, “हामीले  अभियान नै  चलायौँ, गत वर्ष  गाउँपालिकाले नै केही बजेटको व्यवस्था पनि गरेको  थियो, बीमा गर्ने भनिएका सम्बन्धित  बीमा कम्पनी नै  आएनन् , तरकारी बालीको बीमा गर्न पशुमा जस्तो सजिलो  छैन, त्यस कारणले  किसान र बीमा कम्पनीले चासो नदेखाएका  हुन ।” गाउँपालिकाका अधिकांश किसान तरकारी र मकैबालीमा निर्भर छन् ।