पोखराका मेयर आचार्यका चार र उपमेयर गुरुङका दुई निर्णय

जेठ १२, २०७९ बिहीबार

पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङलले पदभार सम्हालेका छन् । उनीहरुले पोखरा पर्यटकीय शहर भएकाले फूलैफूलको शहरका रुपमा चिनाउन भन्दै फूल रोपेर पदभार सम्हालेका हुन् । 

मेयर आचार्य र उमयेयर गुरुङ लगायत जनप्रतिनिधिले पोखराको जिरो किमिदेखि हल्लनचोकसम्म १६७ थान फूल रोपेका छन् । त्यसअघि शपथ ग्रहण गरेलगत्तै जनप्रतिनिधिको टोलीले पुष्पलाल पार्कमा पुगेर माल्यार्पण गरेका थिए । 

मेयर आचार्य र उपमेयर गुरुङका निर्णय

मेयर आचार्यले पदभार सम्हाल्दै गर्दा विभिन्न निर्णय गरेका छन् । आचार्यले पोखरालाई पर्यटकीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने, न्यून आय भएकालाई पोषणभत्ता उपलव्ध गराउने, पोखराको मौलिक पहिचान झल्किने पोखरा स्मारक बनाउने र सिम्बोल अफ पोखरा प्रतियोगिता निर्णय गरेका हुन् ।

यसैगरी उपमेयर गुरुङले पनि पदभार सम्हाल्दै महानगरका अपाङ्गता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।