पोखरामा दर्जन बढी सरकारी गाडी अनेरास्ववियूको नियन्त्रणमा

जेठ १३, २०७९ शुक्रबार

पोखरा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्ध आन्दोलन शुरु गरेको छ । विरोधस्वरुप कास्कीमा सञ्चालित विभिन्न कार्यालयका दर्जन बढी सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । 

अनेरास्ववियूका कार्यकर्ताले जिरोबाट पाँच, महेन्द्रपुलबाट एक मोटरसाईकलसहित पृथ्वीचोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरको स्कोर्पियो, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको चार वटा गाडी, पिएन क्याम्पस गेटबाट पाँच वटा, बाग्लुङ बसपार्कबाट एक र सभागृहचोकबाट एक सरकारी सवारीसाधन नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिएका सवारीसाधनको चावी जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाइएको र बेलुकी ५ बजे अनेरास्ववियुकै उपस्थितिमा चाबी फिर्ता गर्ने सहमति भएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्यायले जानकारी दिए । 

उनका अनुसार बिहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि शुरु गरेको सवारीसाधन नियन्त्रण कार्यक्रममा ३५ जना कार्यकर्ता खटिएका छन् । आफूहरुको विरोधलाई वेवास्ता गरिएमा कडा आन्दोलन गर्ने अनेरास्ववियु कास्कीले चेतावनी दिएको छ ।