गणतन्त्र दिवसको सान्दर्भिकता

जेठ १५, २०७९ आइतबार

आज गणतन्त्र घोषणा भएको दिन । १५ वर्ष भएछ, पहिलो संविधानसभाले नेपाललाई विधिवत् ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ मा रूपान्तरण गरेको । नागरिक आन्दोलनको जगमा २०६२÷६३ को जनआन्दोलनले गणतन्त्रको ढोका खोल्यो । जेठ ४ मा प्रतिनिधिसभाले एउटा नौबुँदे घोषणा जारी गर्याे जसले राजाका सबै अधिकार कटौती गरी संसद् र मन्त्रिपरिषद्मा स्थानान्तरण गर्याे । राज्यप्रमुखका रूपमा राजाले प्रयोग गर्दै आएको काम र भूमिका प्रकृति हेरी प्रधानमन्त्री र सभामुखलाई दिइयो । राजाको उपस्थिति जनाउने ‘श्री ५ को सरकार’ को ठाउँमा नेपाल सरकार भनियो । नेपाली सेनाको अगाडि प्रयुक्त ‘शाही’ शब्दावली हटाइयो । राष्ट्रिय गान परिवर्तन भयो । यसैगरी ‘शाही’ शब्दावलीलाई पनि प्रज्ञा प्रतिष्ठान, राजदूतावासलगायत सरकारी र अर्धसरकारी निकायबाट हटाइयो ।

नेपाल हिन्दू अधिराज्यबाट धर्मनिरपेक्ष राज्य भयो । यो घोषणा नेपालको इतिहासमा अभूतपूर्व राजनीतिक महत्वको थियो । गणतन्त्र घोषणा राजाविरुद्ध क्रान्ति सफल भएको र अगाडिको गन्तव्यका लागि प्रारम्भिक उद्घोष मात्र थियो, अन्त्य थिएन । मुलुक गणतन्त्र भएको डेढ दशक भयो तर गणतान्त्रिक सोचको न्यूनता र संस्कारको शून्यता भने झन्झन् खड्किँदो छ । गणतन्त्र अझै अभिशप्त छ । सुरक्षा र औपचारिक मर्यादाका केही सीमांकन होला, तर सँगसँगै नागरिकका भावनालाई पनि सम्मान गर्न सक्नुपर्छ । संविधान घोषणाको दिन त हामीले पटकपटक बदल्दै आएका छौं । अब फेरि बदल्न नपरोस् भन्ने कामना मात्र हो । तर फेरि गणतन्त्र घोषणा गर्न पर्ने दिन सायद अब नेपालले देख्नु पर्दैन । वास्तवमा यो दिन धेरै महत्वपूर्ण छ, संविधान घोषणा भएको दिनभन्दा पनि बढी । संविधान दिवसले यसलाई विस्थापन गर्न सक्दैन । 

मुलुक गणतन्त्र भएको डेढ दशक नाघिसक्दा पनि गणतान्त्रिक चेतना अभावका थुप्रै उदाहरण अरु पनि छन् । क्रान्तिकारी नेता भनिनेहरूको सार्वजनिक भाषणमा पनि यो शब्द अझै हट्न सकेको छैन । गणराज्य र अधिराज्यबीच संवैधानिक एवं राजनीतिक भेद नछुट्याउनु भनेको गणतान्त्रिक चेतको अभाव हो । अहिलेको परिस्थितिको कुरा गर्ने हो भने गणतन्त्र दिवसकै वरिपरिमा मुलुकमा दोश्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भयो । नयाँ जनप्रतिनिधि आएका छन् भने संघीय र प्रदेशको निर्वाचन पनि संघारमै छ । पाँच वर्षमा जनप्रतिनिधिले जनचाहना अनुसार काम गर्न नसकेपछि जनतामा निकै आक्रोश बढेको छ । त्यसलाई जनताले मतमा अभिव्यक्त गरेका छन् । अर्कोतर्फ गणतन्त्र दिवसकै आसपासमा महङ्गीले जनताका ढाड सेकिएका छन् । जनता अतालिएका छन् । महंगी बढाउन उद्धत सरकारको ध्यान यसतर्फ पुग्न सकेको छैन । राजतन्त्रमा एउटामात्रै राजा थिए, गणतन्त्र आएपछि हजारौं राजा जन्मिए, यसले महङ्गी बढायो, सुशासन कायम हुन सकेन जसले भ्रष्टाचार मौलायो भन्ने बुझाइ जनतामा छ । गणतन्त्र दिवसकै दिन मुलुका नयाँ बजेट पनि आउँदैछ । नयाँ जनप्रतिनिधिसंगै आउन लागेको नयाँ बजेटले जनचाहना पूरा गर्न र समस्या हल गर्न सकोस्, गणतन्त्र दिवसको सार्थकता यही हुनेछ ।