स्वीस इन्टरनेशनल होटल सरोवर : छाप्रोदेखि तारे होटलसम्म, एक अर्ब २० करोड लगानी

जेठ १६, २०७९ सोमबार

-सन्तोष बस्याल

पोखरा । करिब ४० वर्षअघि लेकसाइडको विकास अहिले जस्तो थिएन । होटलहरु सचालनमा आएका थिएनन् । पोखरा घुम्न आएका पर्यटकका लागि बस्ने राम्रो सुविधा थिएन । पर्यटकहरु घरमा बास बस्नुपर्ने अवस्था थियो । समयको आवश्यकतासँगै लेकसाइडमा होटल सञ्चालन हुन थाले । तत्कालिन समयमा अहिलेको जस्तो पक्की र सुविधासम्पन्न भवनहरु बनेका थिइनन् । छाप्रोको समय थियो । छाप्रोबाटै एउटा होटल सञ्चालनमा आयो ।

सरोवर पथमा भरतराज पहारीका बुबाले छाप्रोबाट होटल सञ्चालन गरे । होटलको नाम भने जुरेको थिएन । उक्त होटल सञ्चालनसँगै लेकसाइडमा अन्य होटलहरु थपिन थाले । पर्यटकका लागि सुविधा बढ्दै गयो । सोंच अनुसार होटलमा आम्दानीसमेत हुन थाल्यो । विस्तारै विस्तारै पर्यटकका लागि नयाँनयाँ गन्तव्य खुल्न थाले । एक दिनमात्र भुल्ने पर्यटकहरु हप्तौं भुल्न थाले । 

भरतराज पहारीले बुबाले सञ्चालन गरेको होटलको स्तरोन्नति गर्दै छाप्रोबाट दुई तलाको भवन खडा गरे । पेशाले इन्जिनियरसमेत रहेका पहारीलाई व्यवसायमा सुरक्षा हुनुपर्छ भन्ने राम्रो ज्ञान थियो । उनले आफ्नो इन्जिनियरिङ कौशलता व्यवसायमासमेत देखाए । आफ्नो बुवाले शुरुआत गरेको छाप्रोको होटललाई एउटा आकार दिए र होटल सरोवर नाम दिए । २०३८ सालमा दुई तले भवनबाट स्थापित भएको होटल अहिले नौ तलामा परिणत भएको छ । स्वीस इन्टरनेशनल होटल एण्ड रिर्सोटको चेनमा लक्जरी चार तारे होटल सञ्चालनमा आएको छ । दुई वर्ष अघि कोभिडका समयमा नै सञ्चालनमा आएको होटलको विशेषता भनेकै गुणस्तरीय सेवासुविधा उपलब्ध गराउनु हो । 

होटलले आफ्नो लगानीलाईसमेत विस्तार गरी एक अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । पोखरामा आउने पर्यटकलाई अन्तर्राष्ट्रिय चेन अनुसारको आधुनिक सेवासुविधा दिने गरी स्वीस इन्टरनेशनल होटल सरोवर नामकरण गरी सञ्चालनमा आएको निर्देशक प्रतीकराज पहारीले बताए । 

करिब छ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा दुई तला अन्डरग्राउण्ड छ । होटलको विशेषता भनेकै अन्तर्राष्ट्रिय ब्राण्डलाई स्थापित गर्नु हो । होटलमा ९६ वटा कोठा छन् । स्तरीय लक्जरी क्याटोगरीमा कोठाहरु डिजाइन गरिएको पहारीको भनाइ छ । सुपेरियर क्वीन २१ वर्गमिटर, डिलक्स क्वीन २६ वर्गमिटर, एक्सिसेवल क्वीन २१ वर्गमिटर, स्वीस सेलेक्ट ३२ वर्गमिटर, फेवा स्वीट्स ३७ वर्गमिटर र प्रेसिडेन्टियल स्वीट्स ९८ वर्गमिटर गरी छ स्तरका कोठाहरु छन् । कोठाहरुका शुल्कसमेत फरक छ । सात हजार ५०० देखि २० हजार रुपैयाँ माथिका कोठाहरु होटलमा उपलब्ध छन् ।

अन्तर्राष्ट्रियस्तरको होटलमा हुनुपर्ने सबै विशेषता स्वीस इन्टरनेशनल होटल सरोवरमा उपलब्ध छ । १६ कोठा बराबरको एउटा पूरै फ्लोरमा स्पा, जिम, एरोबिक्स जस्ता फिटनेस सुविधासमेत पाउन सकिन्छ । तातोचिसो बनाउन मिल्ने स्वमिङ पुलसमेत छ । सभा सेमिनार बैठकका लागि सात वटा हल छन् । जसमा एकैपटक छ देखि ७०० सय जनालाई सेवासुविधा दिन सकिन्छ । सुरक्षाको हिसाबले बलियो संरचना बनाइएको र सावधानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिएकाले होटलको संरचनात्मक पक्ष पनि अन्तर्राष्ट्रियस्तरको भएको निर्देशन पहारी बताउँछन । 

होटललाई वातावरण मैत्री बनाउँदै उर्जादेखि फोहोर व्यवस्थापनका विषयमासमेत आधुनिकता अपनाइएको छ । “हामीले संरचनालाई मात्र ध्यान दिएका छैनौं । वातावरण मैत्री बनाएका छौं । उर्जादेखि फोहोर व्यवस्थापनमा आधुनिक र वैकल्पिक उपाय अपनाएका छौं”, उनी भन्छन् । 

होटलमा सोलार जडान गरिएको छ । जसले गर्दा बिजुली खपत कम भएको छ । धोरै काम सोलारबाट हुन्छ । होटलमा जियोथर्मल (जमिन मुनिको हावालाई तानेर लवीमा फ्लो गराउने) प्रविधिसमेत राखिएको छ । होटलबाट निस्कने फोहोरलाई रिसाइकल गर्ने व्यवस्थासमेत मिलाइएको छ । होटलबाटै निस्किएका फोहोरबाट बायोग्यास बनाएर खाना पकाउनमा प्रयोग गरिएको छ । 

स्वीस इन्टरनेशन होटल सरोवरले क्यासिनो सञ्चालन गर्ने तयारी गरिरहेको पहारी बताउँछन् । जसका लागि आवश्यक प्रक्रियालाई अगाडि बढाइएको छ । पोखरालाई अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गर्न यसको आवश्यकता पर्ने पहारीको तर्क छ । स्वादिष्ट र अर्ग्यानिक खानालाई जोड दिँदै स्वस्थकर वातावरणमा होटल सञ्चालन भइरहेको पहारी बताउँछन् । होटलको सम्पूर्ण व्यवस्थापन स्वीस इन्टरनेशनल होटल एण्ड रिजोर्टले सम्हालिरहेको छ । यसको स्थापना स्वीजरल्याण्डबाट भएको हो । अहिले विश्वका अधिकांश देशमा उक्त होटल सञ्चालनमा छ । 

स्वीस इन्टरनेशनल होटल सरोवरका माध्यमबाट पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने पहारीको विश्वास छ । होटलको सेवा सुविधाबाट ग्राहक सन्तुष्ट छन् । होटलमा एक सय जनालाई रोजगारी दिने लक्ष्य राखिएता पनि कोभिडका कारण अहिले ४० जनाले मात्र प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरु अन्तर्राष्ट्रिय ब्राण्डको होटलमा काम गर्न पाउँदा खुशी देखिन्छन् । आगामी समय नेपालका अन्य ठूला शहरमासमेत स्वीस इन्टरनेशनल होटल सरोवर सञ्चालन गर्ने लक्ष्य राखिएको पहारीको भनाइ छ । नेपालमा हाल ८ वटा चार तारे होटल छन् । पर्यटन विभागबाट स्तरीकरण गराउनेमा होटल सरोबरसहित आठ पुगेका हुन् ।

भिडियो