ट्राफिक प्रहरीको शक्तिशाली त्यो रातो चिट !

जेठ २३, २०७९ सोमबार

सुवास पौडेल

पोखरा । नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं जानुपर्ने थियो, घरबाट काठमाडौं तिरको यात्रामा प्रस्थान गरें । पोखराको पृथ्वीचोकबाट एउटा माइक्रोबस भेटे । गाडीमा जम्मा चार जना थिए, म पनि चढें । अमरसिंह चोक आइपुगेपछि सबै सिट भरियो । तै पनि सहचालकले काठमाडौं, काठमाडौं भनेर यात्रु बोलाउन छोडेका थिएनन् । गाडी अगाडि बढ्यो । चाउथेमा दुइ जनाले गाडी रोके । गाडीको सिट प्याक देखेर शुरुमा उनीहरु बस्न मानेनन् । पछि के कुरामा सहमति भयो कुनी उनीहरु गाडीमा चढे र दुई वारी र पारीको सिटको बिचमा काठको फ्लेक राखेर सहचालकले सिट तयार पारे । उनीहरु आडेस नलगाईकन बसे । मैले सोचेको अब त मान्छे अट्दैन कोही पनि राख्दैन होला । तर सोचेजस्तो भएन । सहचालकले फेरि पनि काठमाडौं, काठमाडौं भन्न थालिहाले । 

मेरो सोचाइमा त्यस गाडिमा १५/१६ जाना मात्र अटाउनु पर्ने तर दुलेगौंडा आइपुग्दा गाडीमा चालक र सहचालकसहित २१  जना थिए । तै पनि सहचालक काठमाडौं, काठमाडौं भन्न छोडेका थिएनन् । गाडी अगाडि बढ्दै थियो । थर्पु आइपुग्ने बेलामा प्रहरीले गाडी रोक्यो । प्रहरी गाडी भित्रको मानिसहरू देखेर दङ्ग पर्दै चालकसंग लाइसेन्स, बिलबुक माग्न थालिहाले । चालकले पनि प्रहरीको हातमा कागजपत्र बुझाईहाले । कागजपत्र लिएर प्रहरी गाडी पछाडितिर लागिहाले । चालक र सहचालक पनि गाडीबाट झरेर प्रहरीको पछि लागे । 

लगभग पाँच मिनेटपछि चालकले रु ५०० लेखिएको रातो रङको चिट लिएर आए । प्रहरीले गाडी छोडिदिए । गाडी अगाडि बढ्यो । मलाई खुल्दुली भयो । अनि चालकलाई सोधे तपाईंले कति रुपैयाँ तिर्नुभयो र गाडी छुट्यो ? उनले भने, ‘५००’ । मैले फेरि सोधें, ‘५/६ जना मान्छे बढी राखेर जम्मा ५०० जरीवाना तिरे पुग्दोरहेछ राम्रै फाइदा हुँदोरहेछ ।’ उनले भने, ‘यसो नगरे त चल्नै गाह्रो हुन्छ नि हजुर ।’ 

गाडीका मानिस सबै मौन बसे । म पनि चुप लागेर बसे । गाडी आँबुखैरेनी आइपुग्यो । त्यहाँ पनि प्रहरीले गाडी रोक्यो र कागजपत्र पत्र माग्यो । चालकले अघिको रातो चिट देखाए । यतिको मान्छे राखेर सस्तो चिट परेछ भन्दै रातो चिट प्रहरीले चालकको हातमा थमाउँदै गाडी छोडिदिए । गाडी मुग्लिन आइपुग्यो । मुग्लिनमा पनि प्रहरीले गाडी रोक्यो । त्यहाँ पनि उहीँ आबुखैरेनी कै घटना दोहोरियो । मैले सोच्दै थिए, ‘रातो चिटको पावर कति ठूलो हुदोरहेछ ।’ गाडी साँझ थानकोट पुग्यो । त्यो बीचमा अन्य ठाउँमा कतै चेकिङ भएन । थानकोटमा पनि गाडी चेकिङ भयो, अगाडि बढ्यो । मैले सोचें आज यति सानो गाडी यतिका मान्छे ! धन्न सकुशल काठमाडौं आइयो । 

बेलुका घरमा खाना खाएर सुतेपछि दिउसोको गाडीको यात्राको याद आयो । सम्झिँए त्यही रातो चिटलाई । हाम्रो देशमा कस्तो नियम बनाएको होला ? त्यो गाडीलाई थर्पुमा प्रहरीले चिट काट्यो, मान्छे धेरै राख्यो भनेर जरीवाना लगाउनु ठिक हो । तर चिट काटिसके गाडीलाई त्यही अवस्थामा अगाडि बढ्न दिनु ठीक हो त ? यात्रु बढी भएपछि गाडी लोड हुन्छ । दुर्घटनामा पर्न सक्छ भनेर सिट क्षमता भन्दा बढी यात्रु नचढाउने भनिएको होनी । चालकले रातो चिट बोकेपछि गाडीको लोड कम हुने हो र ? होइन भने सिट क्षमता भन्दा बढी यात्रु बोकेको गाडीलाई थर्पुमा चिट काटेर तेही अवस्थामा छोडिदिनु, गाडिभरी यात्रु कोचेको देख्दा देख्दै आबुखैरेनीमा र मुग्लिनमा चिट हेरेर त्यतिकै छोडिदिनु कति ठूलो कमजोरी हो ? धन्न केही भएन । यदि त्यो दिन उक्त गाडी केही भएको भए यसको दोष प्रहरी, चालक, यात्रु, ट्राफिक नियम, रातो चिटमध्ये कसले पाउथ्यो ? कुरा सामान्य छ तर बिषय गम्भीर छ । सम्बन्धित निकायको यसतर्फ बेलैमा ध्यान जावस् । धन्यवाद !!

(पत्रकार सुवास पौडेलद्वारा पोखरा-काठमाडौं यात्राकाक्रममा गरेको अनुभूति ।)