शुभकामना गोल्डकप : चर्च ब्वाइजको जीत

असार ५, २०७९ आइतबार

पोखरा । चर्च ब्वाइज पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कालिका स्पोटर्सलाई १-० गोलले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । 

आइतबार भएको खेलको दोस्रो हाफमा चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । भोलि खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । 

प्रतियोगिताको विजेताले छ लाख र उपविजेताले नगद तीन लाख रुपैयाँ नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा नेपाल एपिएफ क्लब, चर्च व्याइज, अफ्रिकन टोली क्यामरुन, खुमलटार क्लब, कालिका स्पोटर्स चितवन, बाग्मती युवा क्लब, वीरगञ्ज युनाइटेड र आयोजक टिम हेमजा युनाइटेड सहभागी छ ।