न्यू ग्यालेक्सीको भलिवल प्रतियोगिताः बागलुङ टाइगर च्याम्पियन

असार ६, २०७९ सोमबार

पोखरा । पोखरास्थित न्यू ग्यालेक्सी स्कूलद्धारा आयोजित छात्र छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । एसईइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा पुरुषतर्फ बागलुङ टाइगरले उपाधि जितेको छ । रोचक एवं कडा प्रतिस्पर्धामा बागलुङले तनहुँको शुक्लागण्डकीलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल सेटमा बागलुङले २५ र शुक्लागण्डकीले २४ अंक बनाएको थियो । 

विजेता बागलुङले आठ हजार र उपविजेता शुक्लागण्डकीले चार हजार रुपैयाँ नगद पुरस्कार र शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा शुक्लागण्डकीका संगम गुरुङ वेष्ट स्पाइकर र बागलुङका संगम हितान वेष्ट डिफेण्डर घोषित भए । प्रतियोगितामा पुरुषतर्फ सात टिम सहभागी भएको थियो । 

यसैगरी महिलातर्फ माछापुच्छ्रे एले माछापुच्छ्रे बीलाई पराजित गर्दै उपाधि जितेको छ । चार टिम सहभागी प्रतियोगिता विजेता एले र उपविजेता बीले नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक क्या. वीरबहादुर गुरुङले जानकारी दिए । 

प्रतियोगिता समापन गर्दै ओलम्पिक कमिटीका गण्डकी प्रदेश अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकूदले विद्यार्थीको क्षमता अभिवृद्धि गराउनुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

विद्यालयका प्राचार्य विद्यार्थीमा खेल प्रतिभाको विकास गराउँदै राष्ट्रिय प्रतिभावान खेलाडी उत्पादन गर्न प्रतियोगिताले मद्धत गर्ने प्राचार्य शर्माको विश्वास व्यक्त गरे ।