तनहुँमा १२ वर्षकी बालिका बलात्कृत, गोरखाका चन्द्रबहादुर पक्राउ

असार ७, २०७९ मंगलबार

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका वडा नं. ३ घर भएका ४३ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । गुरुङ तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ थाङ्दी डेरा गरी बस्दै आएका थिए । 

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बालिकाका परिवारले गत बैशाख १६ गते गुरुङले जबरजस्ती करणी गरेको भन्ने जाहेरी दिएपश्चात गुरुङको खोजी भइरहेको र उनलाई सोमबार पक्राउ गर्न सफल भएको हो । उनीमाथि नावालिका करणी मुद्धा अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।