बसको ठक्करबाट महिलाको मृत्यु

असार ८, २०७९ बुधबार

फाइल तस्वीर

कञ्चनपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी-सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना४ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका-६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइत भएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि आक्रोसित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन राजमार्ग खुलाउन प्रयासरत रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।