होटल प्रतिनिधिका गुनासा, ‘पर्यटकको सेवा र सुरक्षामा खटिन्छौं तर हामीलाई पर्यटन व्यवसायी भनिंदैन’

असार ८, २०७९ बुधबार

पोखरा । पोखराका होटल प्रतिनिधि (गाइड) हरुले सरोकारवाला निकायले आफूहरुलाई पर्यटन क्षेत्रसंग नजोडेको भन्दै दुःखेसो गरेका छन् । उनीहरुले आफूहरु पर्यटकको सेवा र सुरक्षामा दिन-रात, घाम-पानी केही नभनि खटिएपनि पर्यटन क्षेत्रसंग नजोड्नु दुःखद् भएको गुनासो गरे । 

होटल प्रतिनिधि समाज पोखराद्धारा आयोजित सल्लाहकारहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा समाजका सल्लाहकार तिलकबहादुर अधिकारीले ट्याक्सी र बस व्यवसायीलाई पर्यटन क्षेत्रसंग जोड्ने तर दिन रात पर्यटकको सेवा र सुरक्षामा खटिने गाइडहरुको संस्थालाई गैरपर्यटन क्षेत्रकोरुपमा लिइनु दुःखद् भएको बताए । 

समाजका पूर्व अध्यक्षसमेत रहेका अधिकारीले पोखरा पर्यटन परिषद्मा समाजलाई दर्ता गर्न प्रयास गर्दा परिषद्ले पर्यटनसंग सम्बन्धित नभएको भन्दै दर्ता नगरिदिएको दुःखेसो गरे । 

पोखरा विमानस्थलमा ट्याक्सी निर्वाधरुपमा प्रवेश पाउने, गाइडले गर्ने पर्यटक ओसारपसारको काम पनि ट्याक्सीले गरिरहेको भन्दै अब यस्तो रवैया बन्द हुनुपर्नेमा जोड दिए । 

पर्यटन परिषद्मा समाज दर्ता गर्न, पोखरा विमानस्थलमा होटल प्रतिनिधिलाई प्रवेश गराउने वातावरण बनाउन र समाजको सबै गतिविधिमा साथ दिन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

अर्का सल्लाहकार जीतबहादुर गुरुङले समाज निकै कष्टपूर्ण अवस्थाबाट यो स्थानमा आउन सफल भएको भन्दै अग्रजहरुको सम्मान र नयाँ नयाँ कार्यक्रम अघि सार्दै समाजलाई अघि बढाउनुपर्नेमा जोड दिए । 

समाजका महासचिव माधव लम्सालले पर्यटन क्षेत्रका केही अराजक व्यक्तिहरुका कारणले समाजका काममा पटक पटक भाँजो हाल्ने काम गरिरहेको भन्दै अबका दिनमा त्यस्तो गर्न खोज्नेलाई नछोड्ने चेतावनी दिए । 

समाजका अध्यक्ष सन्तु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवराज उपाध्यायले स्वागत र महासचिव माधव लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।