बढ्यो सवारी दुर्घटना, आजमात्रै पाँच जनाको मृत्यु

असार ९, २०७९ बिहीबार

पोखरा । नेपालमा सवारी दुर्घटना बढेका छन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । आजमात्रै पाँच स्थानमा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन् ।

आज पर्सा, सुर्खेत, झापा, कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २४ रामगढ्वामा ना४ख ४८४२ नम्बरको ट्रकले ना४४प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही महानगरपालिका वडा नं. २६ सुगौली बस्ने ३५ वर्षीय बसरुदिन अन्सारी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ कपासेमा बा१झ ८७८४ नम्बरको जीप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. २ बस्ने २८ वर्षीय धर्मराज बुढाथोकी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जीप चालकसमेत चार जनाको सोही अस्पतालमा उपचार भइरेहको छ ।  

यता, झापाको मेचीनगर नगरपालिका वडा १५ ज्यामिरगढी गाईना बस्तीमा प्र.१-०१-००१ ह ८६०१ नम्बरको सिटीलाई प्र. १-०१-००१ क ११४६ नम्बरको मिनी ट्रकले बुधबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिटी चालक सोही नगरपालिका वडा नं. ९ बस्ने ४३ वर्षीय रमेश कटवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मिनी ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ५ भकुण्डामा सुपप्र ०१-०१० प ८३९ नम्बरको मोटरसाइकल बुधबार गाढामा ठोक्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पुनर्वास नगरपालिका वडा नं. १ गणेश बस्ती बस्ने २४ वर्षीय विश्राम राना छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको इसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श चोकमा बा८९प ७८७६ नम्बरको मोटरसाइकल र बा४ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका वडा नं. २ व्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीसमेत दुई जना छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।