असार १४, २०७९ मंगलबार
तनहुँ । तनहुँमा आज साँझ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का २६ वर्षका जयराम मोक्तान र भीमफेदी गाउँपालिका वडा नं. १ का २३ वर्षका दीपक गोले रहेका छन् ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा४३प ३०२० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग३च ४१८२ नम्बरको बलेरो जीप एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।