तीन दिन देशभर भारी वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह

असार १५, २०७९ बुधबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आउँदो तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदो तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका हुन् ।

उनले आउँदो तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलो पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए । 

उनले भने, ‘तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौं । अहिले पूर्वदेखि पश्चिमसम्म त्यही अवस्था छ । खोलाको जलस्तर बढेर डुबान र बाढीले समस्या दिने सम्भावना छ । आउँदो तीन दिन ठूलो पानी पर्नेछ । जसका कारण खोलानाला बढ्न गइ कुन-कुन खोलामा के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं ।’

महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरे । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको उनले बताए ।