मिस मगरको ग्राण्ड फिनाले साउन ६ मा, तयारी तीव्र

साउन १, २०७९ आइतबार

पोखरा । मिस मगर नेपाल-२०२२ को ग्राण्ड फिनाले कार्यक्रम यहि साउन ६ गते हुने भएको छ । ग्राण्ड फिनालेमा मिस मगरको उपाधिका लागि १२ जना मगर सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगिताको उपाधिका लागि महिमा रानामगर, टुगा रानामगर, मीना गर्बुजामगर, सलीना मगर, शोभा पुनमगर, सोनु सोमरीमगर, मीलन थापामगर, गोमाकुमारी थापा मगर, भावना खपांगीमगर, रोशना बुढाथोकी मगर, शृष्टी फगामीमगर, सारंगा सोरलीमगरले प्रतिस्पर्धा गर्दैछन् । 

“जातीय भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनले मिस मगर-२०२२ आयोजना गरेको हो । विविध सांगीतिक कार्यक्रमसहित हुने ग्राण्ड फिनाले कार्यक्रम पोखरा होटल ग्राण्डमा हुने आयोजकले जनाएको छ ।

फिनाले कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको र अन्तिम चरणमा पुगेको एसटी क्रियशनका प्रबन्ध निर्देशक एवं कोरियोग्राफर सुरज थापामगरले जानकारी दिए । 

उनका अनुसार सन् २०११ मा मिस मगर पोखराबाट शुुरु भएको यस सौन्दर्य प्रतियोगिता सन् २०१४ देखि मिस मगर नेपालमा रुपान्तरित भएको हो । विविध कारणले बीचमा प्रतियोगिता गर्न नपाए पनि सन् २०१९ मा पुनः मिस मगर नेपाल भएको थापामगरले बताए ।

मिस मगर नेपालका निर्देशक शिव थापामगरका अनुसार झण्डै एक महिनादेखि मिस मगर नेपालका प्रतियोगीहरूले विभिन्न कक्षा लिएका छन् । 

कक्षामा मगर जातिको भाषा, संस्कृतिदेखि आधुनिक फेशन, र्याम्प, नेतृत्व विकास, सकारात्मक सोंचबारेसमेत प्रशिक्षण दिइएका मिस मगर नेपाल फरक खालको सौन्दर्य प्रतियोगिता भएको उनले बताए ।