मिस प्रिन्सेसको उपाधि नेहा गुरुङलाई

साउन ८, २०७९ आइतबार

पोखरा । मिस प्रिन्सेस कास्कीको उपाधि नेहा गुरुङले जितेकी छन् । पोखरामा आयोजना गरिएको प्रतियोगितामा रुपाकोट-५ देउरालीकी गुरुङले उक्त उपाधि हात पारेकी हुन् । कार्यक्रमबाट उपविजेता पोखरा-१४ चाउथेकी आश्ना करणजीत भएकी छन् । सेकन्ड रनरअपको उपाधि पोखरा-३२ राजाको चौताराकी प्रिती गुरुङको हातमा परेको छ । अर्गनाइजर च्वाइसबाट पोखरा-२९ पावर हाउसकी सुर्वण रोका मगर पुरस्कृत भएकी छन् । 

सरगम सांस्कृति कला केन्द्र पोखराले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार तारा बहादुर गुरुङले मिस प्रतियोगिता प्रतिभा प्रस्फोटन गर्ने माध्यम भएको उल्लेख गरे । मिस प्रतियोगितामार्फत प्रतिभावान प्रतियोगीहरुको अन्तनिहीत क्षमता प्रस्फुटन हुने विश्वास उनको छ । पछिल्लो समय मिस प्रतियोगितामा देखिएका विकृति विसंगतिहरुलाई चिर्दै लानुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा सुरताल इभेण्ट म्यानेजमेण्ट प्रालिका निर्देशक प्रशान्त सुनारले मिस प्रतियोगिता जस्ता कार्यक्रममार्फत नेतृत्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिभा प्रस्फोटन गर्ने विभिन्न माध्यमहरुमध्ये मिस प्रतियोगितासमेत एक भएको उल्लेख गरे । कमाउने दृष्टिकोण बाट टाढा रही सामाजिक उत्तरदायित्व बहन गर्ने गरी मिस प्रतियोगिताहरुको आयोजना हुनुपर्ने भनाइ उनको छ ।

सरगम सांस्कृतिक कला केन्द्रकी म्यानेजिङ डाइरेक्टर प्रिती गुरुङले आगामी दिनमासमेत मिस प्रिन्सेस प्रतियोगिताले निरन्तरता पाइराख्ने बताइन् । उनले आजसम्म आफूले समस्याहरुलाई झेल्दै कार्यक्रम गरेता पनि बदनामी हुन नपरेको उल्लेख गरिन् । मिस प्रतियोगिताहरुलाई नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी सकारात्मक पक्षलाईसमेत केलाउनुपर्ने आवश्यकता आजको भएको भनाइ उनको थियो । 

कार्यक्रममा लोकदोहोरी गायक चोलेन्द्र पौडेल र गायिका ज्योती मगरको विशेष प्रस्तुति थियो । कार्यक्रमको निर्णायकमा मन कुमारी पराजुली, साबित्री गिरी, लक्ष्मी गुरुङ र रोहित गुरुङ रहेका थिए । तीर्थबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सह-संयोजन धिरज श्रेष्ठले गरेका थिए भने कोरियोग्राफी समृद्धि पाण्डेले गरेकी थिइन् । कार्यक्रमको संचालन अञ्जना गुरुङले गरेकी थिइन् ।