लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता

साउन १८, २०७९ बुधबार

फाइल तस्वीर

पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसले खेलकुदको महत्वलाई दृष्टिगत गर्दै लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता दिएको बताएका छन् । 

लोकतान्त्रिक खेलकुद सङ्घ, गण्डकी प्रदेशद्वारा नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा आज पोखरामा आयोजित अग्रज खेलाडी भेटघाट कार्यक्रममा उनले नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशका पूर्वखेलाडीको अनुभव र भूमिका स्थापित गराउन कांग्रेस प्रदेश समितिका तर्फबाट पहल गर्ने बताए । 

लोकतान्त्रिक खेलकुद सङ्घले गाउँका वडावडामा सङ्गठन विस्तारतर्फ लाग्दै खेलकुदका गतिविधिलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए । लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले नवौँ राष्ट्रिय खेलकुदमा सबैले छाडेको सुरक्षा र अनुसन्धान उपसमितिमा आफूहरूलाई राख्न खोजिएको बताउँदै गण्डकी प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरूको माग रहेको बताए । 

खेलकुद भनेपछि पछिल्ला समय भ्रष्टाचार बढी हुने क्षेत्रका रूपमा चिनिएको बताउँदै उनले आफूहरू खेल क्षेत्रमा आर्थिक पारदर्शिताका पक्षमा निरन्तर लाग्ने बताए । करिब रु एक अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले नियमानुसार पाउने सुविधाबाट वञ्चित नहुन् भन्ने कुरामा आफूहरू दृढ रही त्यसका लागि सङ्घर्ष गरिरहेको बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य रञ्जन थापाले देश सङ्घीय संरचनामा गए पनि खेलका सङ्घसंस्था त्यहीअनुसार चल्न नसकेको बताए । प्रदेशको राजधानीमा हुने प्रतियोगितामा प्रदेशको एक जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रीकृत मानसिकता कायमै रहेको उनको भनाइ छ ।

बक्सिङका पूर्वराष्ट्रिय खेलाडी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले नवौँ राष्ट्रिय खेलकुद गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्वखेलाडीको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेशभरका पूर्वखेलाडी तथा खेल सङ्घसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्नेमा जोड दिए । खेलकुद क्षेत्रमा विद्यमान अनियमिततालाई चिर्नका लागि लोकतन्त्र र प्रजातन्त्रमा आस्था राख्ने खेलाडी एकजुट हुनु जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्वभलिबल खेलाडी हरि पराजुली, नेपाल आर्चरी सङ्घका केन्द्रीय उपाध्यक्ष वसन्त थकाली, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य जयराम खनाल, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेल, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका अध्यक्ष नवीन पुनलगायतले दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि पोखरामा हुन लागेको प्रतियोगितामा पूर्वखेलकर्मी र खेलसँग सम्बन्धित सङ्घसंस्थालाई उचित भूमिका दिइनुपर्ने आवश्यकता औँल्याएका थिए ।