ढोरपाटनमा किन घटे नाउर ?

साउन १९, २०७९ बिहीबार

फाइल तस्वीर

बागलुङ । हरेक पाँचपाँच वर्षमा ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना हुन्छ । गणनाको नतिजालाई हेरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा तोक्ने गर्छ । पछिल्ला याममा भने सिकार कोटा घट्दो छ । वन्यजन्तुको संख्या घटेपछि विभागले सिकारलाई पनि थप नियन्त्रित गरेको हो । गत वर्षको हिउँदमा गरिएको गणनामा नाउरको सङ्ख्या ह्वात्तै घटेर एक हजार दुई सय ९० मा झरेको पाइएको थियो । जबकि विसं २०७२ को गणनामा दुई हजार दुईसय दुई नाउर आरक्षमा भेटिएका थिए ।

सोही अवधिमा झारल भने तीन सय ८८ बाट बढेर सात सय ४४ पुगेका थिए । यसरी नाउर मात्र किन घटे त ? आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले नाउरको संख्या घट्नुमा अनेकन कारण रहेको बताए । “हिमपहिरो, डढेलो र रोगव्याधि चल्दा नाउर मर्छन्, चोरीसिकार पनि हुन्छ”, उनले भने, “गणनाको याम, विधि जस्ता कुराले पनि संख्या तलमाथि पर्न सक्छ ।” नाउरको बसाइँसराइले पनि सही तथ्याङ्क पाउन गाह्रो हुने अधिकृत खड्काले उल्लेख गरे ।

“ढोरपाटनबाट नाउरको बथानै डोल्पातिर जाने, उताको यता आउने पनि हुन्छ, आहारा नपाए चहार्दै अन्त जाने स्वभाव उनीहरुमा हुन्छ”, उनले भने । उनले पाँच वर्षमा झण्डै एक हजार नाउर घट्नु स्वभाविक नदेखिएकाले त्यसबारे थप अध्ययनको खाँचो औँल्याए । हरेकजसो गणनामा सहभागी हुँदै आएका सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले कठिन भूगोलका कारण नाउर र झारलको गणना चुनौतीपूर्ण हुने गरेको बताए । “मौसमको प्रतिकूलता हुँदा नाउरको बासस्थान भेटाउनै सकिन्न, भारी हिमपातले त्यो ठाउँमा जानै नसक्ने अवस्था पनि आउँछ”, उनले भने ।

अनुमति प्राप्त सिकारीसमेत रहेका थापाले ढोरपाटन उपत्यकाबाट चार दिनसम्म हिँडेर नाउर गणनाका लागि सुनदह ब्लकसम्म पुगेको सुनाए । सुनदह पश्चिम रुकुमको चुरुने हिमाल आसपास पर्छ । आरक्षका कर्मचारी, प्राविधिक, सिकार कम्पनीका प्रतिनिधि, स्थानीय पथप्रदर्शक र भरियासमेतको टोली गणनामा खटिने गरेको उनको भनाइ छ ।

“बाइनाकुलरलगायतका उपकरणको सहायतामा गणना गरिन्छ, सिकार ब्लकसम्म पुग्ने दुरी र क्षेत्रफलअनुसार एउटै ब्लकमा चार÷पाँच दिनसम्म पनि लाग्छ”, थापाले भने, “प्रत्येक ब्लकमा नाउर र झारलको छुट्टाछुट्टै गणना हुन्छ ।”  गणनाको याम, हावापानीको स्थिति, वन्यजन्तुको आनीबानी, गणकको दक्षता र प्राविधिक तथा व्यवस्थापकीय पक्षले पनि गणनालाई प्रभाव पार्ने उहाँको भनाइ छ । असोज–कात्तिकमा गणना गर्दा धेरै सहज हुने गरेको थापाको अनुभव छ ।

नाउरको संख्या घटेका कारण सिकारको कोटा पनि कम हुँदै गएको उनले बताए । पहिलेपहिले वार्षिक २६ वटासम्म नाउरको सिकार कोटा निर्धारण गर्ने गरिएकामा अहिले २० मा झरेको छ । अधिकृत खड्काले नाउर, झारललगायत हिमाली तथा उच्च पहाडी भेगमा पाइने वन्यजन्तुको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताए । “धेरै ठाउँमा पाइने भएकाले पनि होला नाउर, झारल जस्ता वन्यजन्तु खासै प्राथमिकता परेको देखिन्न, यिनीहरुको अवस्था, बासस्थान आदिबारे पनि खोज, अध्ययन हुनुपर्छ, संरक्षणको योजना ल्याउनुपर्छ”, उनले भने । गणनाका क्रममा आरक्षको सुर्तिबाङ ब्लकमा अधिकांश झारल दुब्लोपातलो अवस्थामा भेटिएको उनले सुनाए ।

हिमाली भेडा प्रजातिमा पर्ने नाउर र बाख्रा प्रजातिको झारलको आहारा भनेकै घाँस र बुट्यान हो । जाडोयाम र हिमपात हुँदा हिमाली भेगका वन्यजन्तुलाई आहारा पुग्दैन । त्यस्तो बेला दुब्लाउँदै जाने र रोगी हुने सम्भावना बढी हुन्छ । विभागले पछिल्लो समय वार्षिक १९ देखि २४ वटासम्म नाउर र १४ देखि १९ सम्म झारलको सिकार कोटा छुट्याउने गरेको छ । सिकारीले आरक्षमा उमेर पुगेको बुढो नाउर र झारलको मात्र सिकार गर्न पाउने नियम छ ।  

नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउरको बासस्थान रहे पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ । 

झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालयित हुन्छन् । नेपाली सिकार कम्पनीमार्फत् विदेशीहरु सिकार खेल्न आरक्ष पुग्छन् । बर्सेनि असोज-मङ्सिर र फागुन-वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । गत आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । 

सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले गत वर्ष सिकार खेलाएको थियो । अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । 

विद्युतीय बोलपत्रमार्फत् छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ । कम्पनीले गत आवको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले जानकारी दिए ।

कोभिड-१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उनको भनाइ छ । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेको कम्पनी बताउँछन् । 

सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र पश्चिम रुकुमको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । आरक्ष क्षेत्रमा संरक्षित पक्षी डाँफे, मुनाललगायत १६५ प्रजातिका चराको बसोबास छ ।