बाँदर सरासर घर-घरमा

साउन २०, २०७९ शुक्रबार

फाइल तस्वीर

बागलुङ । काठेखोला गाउँपालिका-६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बाली नै रहन्न । बिहान उज्यालो हुँदा किसानको खेतबारीमा पुग्ने बाँदरले रात नछिपिँदासम्म छोड्दैन् । 

यहाँका अधिकांश किसानको दिन बाँदरसँगको लुकामारीमा बित्ने गरेको छ । खेतमा लगाएको आधाउधी मकै मात्रै घरमा भित्र्याएका किसानले बारीको बाली पनि राम्रोसँग लिन पाएनन् । बिहानै खेतबारीको डिलमा पुगेर दिनभर बाँदरसँग लुकामारी खेल्ने किसान साँझ डोकोभरी मकैको पोस्कर बोकेर घर फर्किन बाध्य छन् ।

“एक/दुई जनालाई त बाँदरले टेर्दैन, लखेट्दा लखेट्दै लान्छ पाक्ने बेलाको बाली पनि’’, बिहुँका किसान गुरुप्रसाद कँडेलले भने, “बाँदर नियन्त्रण नगरे त गाउँमा बस्नै नसकिने अवस्था आयो ।’’ घरमा भित्र्याइएका अन्नबाली बाँदरले घरभित्रै पसेर मास्न थालेको उनको गुनासो थियो ।

बिहुँमा अधिकांश उब्जाउ हुने जमिनमा भएका जङ्गल हटाइएको छ । खेतबारीका छेउछाउमा रहेका रुखले उत्पादनमा क्षति पुर्याएको भन्दै किसान आफैँले धेरै काम नलाग्ने रुख हटाए । उब्जाउ जमिन नजिकैका रुखका कारण एकातर्फ उत्पादन घट्ने र अर्कोतर्फ बाँदरको बास बनेकाले रुख त काटियो तर समस्या भने समाधान भएको छैन । 

“पहिले पहिले यतिभाँति बाँदर आएको थाहै थिएन । एकाध दिनमा आएको बाँदर धपाउँदा जान्थ्यो’’, उनले भने, “अहिलेका बाँदर त एक्लै देखे लखेट्न आउँछन् ।’’ खेतबारीमा लगाइने धान, मकै, कोदो, गहुँ बालीका अलावा करेसाबारीमा लगाइने तरकारी बालीमा पनि बाँदरले क्षति पुर्याउने गरेको कँडेलले सुनाए । बिहुँमा सुन्तलाको बगान धेरै छन् । सुन्तलाको याममा बगान पसेको बाँदरले उक्त बालीमा पनि क्षति गर्ने गरेको छ । 

बागलुङमा बाँदरको समस्या बिहुँमा मात्रै होइन । जिल्लाका अधिकांश किसान बाँदरको आतङ्कबाट प्रताडित छन् । हिउँदको समयमा भन्दा वर्षाको समयमा बाँदरले किसानलाई बढी पीडा दिने गरेको छ । “असारे खेतको मकै यसपाली बाँदरले नखाइ भित्र्याइयो तर बारीमा लगाइएको मकैमा दाना नलाग्दै बोटैबाट खोसेर लग्यो’’, जैमिनी नगरपालिका-१ की किसान गङ्गादेवी शर्माले भनिन्, “महँगो बीउ मल, खेताला हालेर लगाइएको बाली बाँदर पाल्नलाई भइरहेको छ ।’’ किसानले बाँदर नियन्त्रणका लागि स्थानीय सरकारसँग हारगुहार गर्दै आएका छन् । 

जैमिनी नगरपालिकाले बितेका तीन वर्ष बाँदर नियन्त्रणका लागि कहिले कार्बन बन्दुक वितरण गर्ने त कहिले हेरालो राखेर खाजा खर्च दिने काम गर्यो । काठेखोला गाउँपालिकाले पनि दुई वर्ष बाँदर नियन्त्रणका नाममा लाखौँ रकम खर्चेको थियो । “बाँदर नियन्त्रणका लागि ल्याइएको कार्बन पड्काउने प्लास्टिकको बन्दुकले पहिले पहिले बाँदर भाग्यो, आजभोलि त गिज्याउँछ’, जैमिनी नगरपालिका-४ का लेखनाथ शर्माले भने, “अब यहाँको बाँदर छोपेर निकुञ्जमा नपुर्याइ उपाय छैन ।’’ बाँदरकै समस्या देखाएर बसाइँ सरेर हिँड्ने बढेको उनले सुनाए ।

पहिले गाउँ छेउमा आएका बाँदर चौतारी, पोखरीका छेउछाउमा रहेका बर पीपलका दानामा भुल्ने र त्यहीँबाट फर्किने गरेको भए पनि अहिले बाँदर सरासर घर घरमा पस्न थालेको पीडित किसानले बताए । यहाँका स्थानीय तहले बाँदर नियन्त्रणका लागि जङ्गलमा नै बाँदरका लागि आहाराको व्यवस्था गर्न विभिन्न कार्यक्रम बनाए पनि प्रभावकारी हुन सकेन । किसानको समस्यालाई मध्यनजर गरेर नै आउँदो आवमा ‘फुड फरेष्ट’ कार्यक्रम ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

काठेखोला गाउँपालिका-७ ले दुई वर्ष पहिलादेखि नै जङ्गलमा फलफूलका बिरुवा रोप्न शुरु गरिसकेको छ । स्थानीय तहले बनाएका योजनाले दीर्घकालीन रुपमा समस्या सम्बोधन गर्ने भए पनि तत्कालका लागि किसान र बाँदरको लुकामारीले ठूलो समस्या भएको किसानको गुनासो छ ।