बजार विक्री प्रतिनिधि संघ पोखराको अध्यक्षमा तिवारी निर्वाचित

साउन २१, २०७९ शनिबार

पोखरा । नेपाल बजार विक्री प्रतिनिधि संघ पोखराको अध्यक्षमा बाबुराम तिवारी निर्वाचित भएका छन् । संघको दोश्रो अधिवेशनले तिवारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा जय नारायण सापकोटा, सचिवमा भुवन पौडेल तथा अर्थउपसचिवमा अग्नी पनेरु, संगठन उपसचिवमा मोनिका बराल, प्रचार प्रसार उपसचिवमा सुनिल कुमार गोर्खाली साथै अतिरिक्त उपसचिवमा सूर्यप्रसाद भट्टराई छन् । कार्यसमिति सदस्यमा गोविन्द रेग्मी, माधव बराल, वविता भूषाल, केदार पौडेल, गुणराज गिरी, अजयराज खनाल र हृदयबाबु पौडेल चुनिए ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघका गण्डकी प्रदेश अध्यक्ष विक्रम कर्माचार्यले कुनै पनि उद्योग प्रतिष्ठान र कम्पनी प्रतिनिधि बीच बजारसम्म उत्पादित उपभोग्य सामाग्री पुर्याउन दुबैपक्ष बिच पुलको काम गर्नुपर्ने बताए ।

उनले कम्पनी प्रतिनिधि उद्योगको मेरुदण्ड भएको उल्लेख गर्दै उपभोक्ताको घर भाञ्छासम्म पुर्याउने काम कम्पनी प्रतिनिधिले गर्दै आएको र उद्योगको व्यवसाय प्रवर्द्धनमासमेत कम्पनी प्रतिनिधिको अहम् भूमिका रहेको बताए ।

मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव तारानाथ ढुंगानाले बजारमा काम गर्ने प्रतिनिधिले सम्पूर्ण उद्योगको विकासमा अहम् भूमिका खेलेको उल्लेख गर्दै उद्योग व्यवसायको रक्षा गर्ने कामसमेत कम्पनी प्रतिनिधिले गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रममा नेपाल बजार विक्री प्रतिनिधि संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतम, संघका संस्थापक उपाध्यक्ष वसन्त राज सिग्देल, केन्द्रीय उपाध्यक्ष राजन कार्की, केन्द्रीय प्रचारप्रसार सचिव श्रीराम सिग्देल, संघका गण्डकी प्रदेश अध्यक्ष गोविन्द ढुङ्गाना, संघका पूर्व गण्डकी धौलागिरी अध्यक्ष गोपाल सापकोटा लगायतले बोलेका थिए ।

नेपाल बजार विक्री प्रतिनिधि संघ पोखरा शाखाका अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका गण्डकी प्रदेश सचिव सुरेश सापकोटाले गरेका थिए ।