श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण कथा कार्यक्रम जारी

साउन २१, २०७९ शनिबार

पोखरा । पोखरामा श्रीमद् वितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम जारीे छ ।

पोखरा महानगरपालिका वडा नं. ८  रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरको आयोजनामा साउन २ देखि कार्यक्रम शुरु भएको हो । कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ ।

कार्यक्रममा गुरुजी वाणी तथा वितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गरेका छन् ।

‘धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहनेछ मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले भने, ‘कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न अनुरोध गर्दछौं ।’

कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।

हालसम्म ६ हजार बढी भक्तजनले कार्यक्रममा सहभागिता जनाएको मन्दिरका सचिव देवी प्रसाद खतिवडाले जानकारी दिए ।

मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औं पटक कार्यक्रम गरिएको हो । साउन २७ गते रक्षबन्धनको दिन विशेष कार्यक्रम पनि गरिनेछ ।