दशैंमा स्याडोज व्याण्ड, भिटेन र डिजे नानीले ओशाका तताउने

असोज ७, २०७९ शुक्रबार

पोखरा । जापानको ओशाका शहरमा सांगीतिक कार्यक्रम हुने भएको छ । कान्साइवासीहरुलाई लक्षित गरि नेपालीहरुको महानपर्व बडादशैंको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा नेपालको ख्यातिप्राप्त व्याण्ड स्याडोजसहित चर्चित र्‍यापर भिटेन र डिजे नानी सहभागी हुने भएका छन् । कार्यक्रम ओक्टोबर ६ तारिक अर्थात असोज २० गते बिहीबारका दिन बेलुकी ५ः३० बजेदेखि राति १० बजेसम्म कन्सर्ट आयोजना हुने बताइन्छ ।

ओएनएस ग्रुप र गणेशा डाइनिङ्गले संयुक्तरुपमा कार्यक्रम आयोजना गर्न लागिएको हो । लाइभ म्युजिक कार्यक्रमका लागि आवश्यक तयारी थालिएको एनआरएनए कान्साईका संयोजकसमेत रहेका गणेशा डाइनिङ्गका संचालक दिलिप शर्मा गैरेले जानकारी दिए ।

कान्साई क्षेत्रमा युवाहरुको पुरानो संस्था ओएनएस ग्रुपले मनोरञ्जनात्मक कार्यक्रमतर्फ यसअघि दि एड्ज व्याण्ड, कबड्डी–कबड्डी, लुट २, कबड्डी ४ जस्ता सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिसकेको छ ।

यस पटकको कार्यक्रम भव्य र कान्साईमा हाल अहिलेसम्म कै ठूलो कार्यक्रम हुने म्यानेजमेन्ट टिमका तेज गुरुङ बताउछन् ।

म्यानेजमेन्ट टिममै रहेका डेनिश पुनका अनुसार कार्यक्रमका लागि टिकट शुल्क एडभान्समा लिएमा ३५ सय येन र सोहि दिन हलमा लिएमा चार हजार येन तोकिएको छ । कार्यक्रम घोषणा लगत्तै टिकट बुकिङ शुरु भइसकेको उनले बताए ।