जोजिजु म्यूजिकल जर्नीमा सांगीतिक, सांस्कृतिक कार्यक्रमसहित श्रष्टा सम्मान हुने

असोज ७, २०७९ शुक्रबार

पोखरा । पोखरास्थित जोजिजु म्युजिक सेन्टर, म्यूजिक स्कूलले विविध सांगीतिक÷सांस्कृतिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । 

१९ औं जोजिजु म्यूजिकल जर्नी २०७९ अन्तर्गत कार्यक्रम यहि असोज १० गते घटस्थापनाका दिन पोखरा उद्योग वाणिज्य संघको सभाहलमा दिउसो १ बजे हुनेछ । 

कार्यक्रममा पोखराका ख्यातिप्राप्त विभिन्न कलाकारहरुले सांगीतिक/सांस्कृतिक प्रस्तुति राख्ने कार्यक्रम संयोजक सानु जोजिजुले जानकारी दिइन् । 

उक्त अवसर गायनतर्फ देउराली ब्याण्डका शान्ताराज बज्राचार्य, बाद्यवाधनतर्फ तेज केसी, नृत्य विधाबाट गम्भीर वर्देवाका साथै मनोरञ्जन विधामा कलम चलाउने पत्रकार राजाराम पौडेललाई सम्मान गर्ने कार्यक्रम छ ।

‘संगीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ जोजिजु म्यूजिक सेन्टरले वार्षिकरुपमै यस्ता कार्यक्रमहरु गर्दै आइरहेको संस्थाका प्रवन्ध निर्देशक तथा गायक विनित जोजिजुले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी तीव्ररुपले अघि बढाइएको छ ।