पद्म नर्सिङ्ग होम थप सुविधासहित नदीपुरमा

असोज ११, २०७९ मंगलबार

असोज । पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. नदीपुरबाट संचालनमा आएको छ । विगत २७ बर्षदेखि पोखराको न्यूरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम सोमबार घटस्थापनाको दिनदेखि पोखरा-३ नदीपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै सुविधा सम्पन्न भवनबाट संचालनमा आएको हो ।

नर्सिङ्ग होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आइरहेको सेवालाई यथावत राखेको जनाएको छ ।

नर्सिङ्ग होमले अब छिट्टै नै आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थप गर्ने तयारी गरेको प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिए ।

“हामीले सबै प्रकारका सेवा दिने तयारी गरेका छौं । न्यूरोडमा संचालनमा रहँदा भएका सबै सेवालाई यथावत संचालन गरेर आईसियु एनआईसियु, पिआईसियु, सिटीस्क्यान, एमआरआई लगायतका सेवा थपको तयारी गरेका छौं’, उनले भने, ‘केही काम बाँकी रहेकाले यी सेवाहरु शुरु भने भएका छैनन् । अब छिट्टै यी सेवाहरु पनि शुरु हुने छन् ।’ उनका अनुसार कार्तिक वा मंसिरसम्म यी सेवाहरु सुचारू गर्ने तयारी भइरहेको छ ।

नदीपुरमा स्थानान्तरण भएसंगै ५० बेड क्षमता बाट १०० बेड क्षमतामा स्तर उन्नतिको तयारी गरेको नर्सिङ्ग होमले भौतिक निर्माणको कामलाई तीब्रता दिएको जनाएको छ । 

नर्सिङ्ग होमबाट थप अनुभवी र वरिष्ठ डाक्टरहरुको परामर्शमा सेवा दिने गरेर तयारी थालिएको बताउँदै प्रालिका अध्यक्ष इन्दिरा शर्मा सुवेदीले निर्माणको काम अझै केही बाँकी रहेकोले थप सेवा संचालनमा आउन भने केही दिन लाग्ने सक्ने जानकारी दिए ।

प्रालिका संचालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर नारायण गौतमले पद्म नर्सिङ्ग होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्ने बताउँदै सर्वसुलभ स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने आफुहरुको उदेश्य रहेको बताए ।

के-के छन् सेवा ?

पद्म नर्सिङ्ग होमबाट वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. सचेत प्रभात श्रेष्ठ, वरिष्ठ रेडियोलोजिष्ठ डा. कालु शर्मा सुवेदी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतम, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. कुलदीप नारायण अग्रहरी, एलर्जी, छाला तथा यौन रोग विशेषज्ञ डा. प्रवीण बानियाँ, वरिष्ठ फेमिली फिजिसियन डा. तरुण पौडेल छन् । 

यस्तै, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जुनु श्रेष्ठ, वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला, स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी सुनार, बालरोग विशेषज्ञ डा. नम्रता केसी, नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. उपेन्द्रजंग थापा, वरिष्ठ युरोलोजिष्ट डा. धुव्र अधिकारी, वरिष्ठ जनरल सर्जन डा. ऋषि ढकाल, जनरल सर्जन डा. ओम कार्की, फिजिसियन डा. सुदर्शन सुवेदी, एनेस्थेशिया डा.अनिल न्यौपाने, बाल दन्तरोग विशेषज्ञ डाक्टर भावना सिग्देल छन्

यसैगरी ल्याप्रोस्कोपीक सर्जन डा. सुनिल ज्वारचन, एनेस्थेशिया डा. वसन्त कोइराला, वरिष्ठ नेत्ररोग रेटिना एवं फेको विशेषज्ञ डा. सयम बजिमय, नेत्ररोग विशेषज्ञ डा. जोत्सना शर्मा सुवेदी र फिजिसियन डा. अशिम बाटाजु लगायतका चिकित्सकद्वारा विशेषज्ञ सुविधा लिन सकिने अस्पतालले जनाएको छ ।