दीपावलीको हार्दिक मंगलमय शुभकामना

कात्तिक ७, २०७९ सोमबार

नेपालीहरूको महान चाड तिहार शुरु भएको छ । तिहार पारिवारिकरूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलनको, सामाजिकरूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहार उज्यालोको पर्व हो । दीपको उज्यालोमा धनकी देवी लक्ष्मीको पूजा आराधना हुन्छ । तिहारको देउसी-भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । दीपावलीको उज्यालोले स्वतः उज्ज्वल भविष्यको कामना गर्छ । तिहार फूलको चाड हो । फूल कोमलता र सौन्दर्यको प्रतीक हो । यसरी तिहार समग्रमा पारिवारिक-सामाजिक पुनर्मिलन, सद्भाव अभिवृद्धि, समुन्नत/समृद्ध भविष्यको कामनाको चाड हो । यस्तै, लक्ष्मी, समृद्धि रूपी अन्न भित्र्याउन सहयोग गर्ने प्रकृति र पशुपक्षीप्रति कृतज्ञता प्रकट गर्दै खुशी साटासाट गर्ने अवसर पनि हो । यसले मानव र प्रकृतिको सम्बन्धलाई दर्शाउँछ । मानिसका सहयोगी पशुपक्षीको पूजा गरिनु विशिष्ट महत्व छ । समस्त जगतको प्रतिनिधिका रूपमा कागलाई पूजा गरेर चराको संरक्षणप्रति सन्देश दिन्छ । गाई, गोरु कृषिको अभिन्न अङ्ग नै हो ।

पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, चौथो दिन गोरु र पाँचौँ दिन दाजुभाइको पूजा गरेर तिहार सम्पन्न हुन्छ । धार्मिक विश्वास अनुसार यमराजसमेत आफ्नी बहिनी यमुनाको आतिथ्य ग्रहण गरेको अवसर हो यो । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्ने पौराणिक मान्यता छ । बलिलाई दानशील राजाका रूपमा सम्मान गरिन्छ । धनदौलत, सुख, समृद्धिका लागि लक्ष्मीको पूजा गरिने दियोमा तेलका बत्तीबालेर उज्यालो बनाइने भएकाले यो उज्यालो पर्व वा दीपावली पनि हो । धन, सुख, समृद्धिका लागि विभिन्न नाममा विभिन्न समुदायले फरक-फरक ढङ्गले पूजा गर्ने र उत्सव मनाउने भए पनि तिहार नेपालीको चाड हो । यसमा नेपालीपन धेरै छ । काग, कुकुर, गाई, गोरुको पूजाले प्रकृति र मानवको सम्बन्धलाई स्पष्ट पार्छ । बिग्रँदो पर्यावरणीय अवस्थाप्रति विश्व चिन्तित भएको अवस्थामा हाम्रो धर्म, संस्कृतिले नै प्रकृतिलाई विशिष्ट स्थानमा राख्नु गर्वको कुरा हो । 

हिन्दू मात्र नभई विभिन्न सम्प्रदायका मानिसले तिहारलाई मनाइरहेका छन् । मिथिला संस्कृतिमा पशुपक्षीलाई पूजा गरेर पशुपर्व मनाउने प्रचलन छ । नेवार समुदायले म्हपूजा (देह, शरीर पूजा) गर्छन् । यो आफ्नै शरीरभित्रको चेतनाप्रदायक आत्मतावको पूजा हो । नेपालकै मौलिक संवतकारूपमा रहेको नेपाल संवतको पहिलो दिन पनि हो । धार्मिक पक्ष जे भए पनि चाडपर्वको सामाजिक र सांस्कृतिक पक्ष भने महत्वपूर्ण हुन्छ । हरेक चाडपर्वले मानिसमा मेलमिलाप, खुशियाली ल्याउनुपर्छ, सामाजिक सद्भावना र शान्ति बढाउनुपर्छ र जीवनलाई सुखमय बनाउन सहयोग गर्नुपर्छ । परापूर्वकालदेखि हिन्दू धर्मावलम्बी नेपालीले तिहार मनाउँदै आएका छौँ । तिहारमा मिठाई अनेक परिकार ठूलो परिमाणमा खपत हुने गरेको छ । तर मिठाईको गुणस्तमा प्रश्न उठ्दै आएको छ ।

मिठाईमा रङ, कच्चा पदार्थको भण्डारण, किचनको सरसफाइ जस्ता पक्ष अस्वस्थकर फेला पर्ने गरेका छन् । अखाद्य रङको प्रयोग अस्वस्थकर भण्डार र फोहोर बनाउने ठाउँ समस्याका रूपमा रहेका छन् । नियामक निकायले अनुगमन गर्दै आएका भए पनि त्यसको निरन्तरता र कारबाहीको पक्ष निकै कमजोर छ । समस्या फलफूलमा पनि छ । फलफूलमा रासायनिक वस्तुको प्रयोग मुख्य समस्याका रूपमा छ । जनस्वास्थ्यसँग जोडिएको यस पक्षमा नियामक निकायले ध्यान दिन आवश्यक छ । उत्पादक तथा व्यापारी-व्यवसायीले चाडपर्वलाई केवल कमाउने मौकाका रूपमा नलिई उपभोक्ताको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । तिहारमा विस्फोटक पटकाको प्रयोग पनि समस्याका रूपमा रहेको छ । भारतीय बजारबाट ठूलो परिमाणमा पटका भित्रिने गरेको छ । व्यक्तिगतरूपमा पनि पटकाको प्रयोग जोखिमपूर्ण छ ।

केही वर्षयता पटका प्रयोग भने घटेको पाइन्छ । पटकाबाट हुन सक्ने क्षतिलाई ध्यानमा राखेर नियन्त्रणमा निरन्तर कडाइ गर्न आवश्यक छ । महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् । देशमा राजनीतिक स्थायित्व, कायम हुन सकोस्, मुलुक समृद्धितर्फ उन्मुख होस् र यसका लागि मार्ग तयार होस् । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभ दीपावलीको हार्दिक शुभकामना ।