तनहुँको परेवाडाँडा-चिन्तुटारको यात्रा अब १० मिनेटमै !

मंसिर १४, २०७९ बुधबार

फाइल तस्वीर

तनहुँ । मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास-१० को परेवाडाँडा र पारी व्यास-५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । 

दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास-१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए । आर्थिक वर्ष २०७६/७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युतको हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो । 

एन टाइपको सस्पेन्सन किसिमको करिब दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँमाले सो पुल बनाएको हो ।

रु दुई करोड ६४ लाखमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिए । पिजन हिल होटल सञ्चालकसमेत रहेका विवेक सापकोटाले दुई वडालगायतका करिब दश हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताए । 

पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत  मिलेको व्यास नगरपालिका-१० का वडाध्यक्ष खेमराज पोलले जानकारी दिए ।