पोखरा-५ स्थित बाराही माविको ६५ औं वार्षिकोत्सव

मंसिर १५, २०७९ बिहीबार

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । 
विद्यालयले साताभर सांस्कृतिक, वौद्धिक क्षमता अभिवृद्धि गर्ने खालका विविध कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाएको हो । 

कार्यक्रम शुभारम्भ गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले नेपालको शैक्षिक विकासमा बाराही स्कूलले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । 

उनले बाराही स्कूल विगतदेखि शैक्षिक उत्कृष्टतासहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरतरुपमा क्रियाशील रहेको र यसले नेपालकै शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको स्पष्ट पारे ।

पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बाराही माविलाई पोखराकै नमूना विद्यालय बनाउन आफू र वडा कार्यालय प्रतिवद्ध रहेको बताए ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बाराही स्कूल पोखराको उत्कृष्ट विद्यालय भएकाले विद्यालयको विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पोखरा–५ का निवर्तमान वडाध्यक्ष धनबहादुर नेपाली, ब्रह्माकुमारी सुधा दिदी, समाजसेवी पुरुषोत्तम प्रसाद पराजुली, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष द्रोणराज अधिकारी, पूर्व प्रधानाध्यापक सोमनाथ भूत्र्याल, शिक्षासेवी पुष्पराज बराल, जनप्रतिनिधि हरिमाया विक, पूर्व जनप्रतिनिधि उज्वल खत्री, अक्षयकोषदाता चक्रपाणि सुवेदी लगायतले बोलेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शिवप्रसाद भण्डारीले भावी रणनीतिसहित वार्षिक प्रतिवेदन प्रस्तुत, शिक्षक रामप्रसाद पोखरेलले कार्यक्रम सञ्चालन र शिक्षक रामचन्द्र ढकालको नेतृत्वमा विद्यार्थी कृति ढकालले गीतमार्फत स्वागत गरेकी थिइन् । 

कार्यक्रममा पोखरा-५ मालेपाटन निवासी चक्रपाणि सुवेदीले आफ्ना माता-पिता जीवनाथ-देउरुपा स्मृति अक्षयकोषका लागि एक लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । 

सो अवसरमा प्रधानाध्यापक शिवप्रसाद भण्डारी र शिक्षक शम्भुप्रसाद पराजुलीलाई दीर्घसेवा सम्मान, शिक्षक छवीकुमारी सापकोटालाई वर्ष शिक्षक सम्मान गरिएको थियो । यस्तै, चलचित्रकर्मी ताराबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।