माघ ९, २०७९ सोमबार
पोखरा । नेकपा (एमाले) धादिङ-पोखरा सम्पर्क मञ्चले सोमबार धादिङस्थित एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
बेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ वरपुकस्थित चित्रकाली आधारभूत विद्यालयमा अध्ययनरत ४१ जना विद्यार्थीलाई मञ्चले न्यानो कपडा वितरण गरेको हो । सो विद्यालयमा विशेषगरि चेपाङ समुदायका विद्यार्थी अध्ययनरत छन् ।
मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको नेतृत्व र कार्यसमिति सदस्य मिलन सुनारको संयोजनमा पोखरादेखि सो विद्यालयमा पुगेको टोलीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
सो अवसरमा बोल्दै नेकपा (एमाले) धादिङका जिल्ला कमिटी सदस्य एवं मञ्चका पूर्व अध्यक्ष वेनी पाठकले मञ्चले राजनैतिक गतिविधिका साथै सामाजिक उत्तरदायित्वको काम गर्दै आएको बताए ।
विद्यालयमा विशेषगरि चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने गरेको भन्दै उनले बालबालिकाहरुलाई न्यानो कपडा आवश्यक भएको बुझेर मञ्चले गरेको काम निकै प्रशंसनीय भएको बताए ।
नेकपा (एमाले) बेनीघाट रोराङ गाउँपालिका कमिटी अध्यक्ष रमेश भट्टराईले पोखरामा रहनुभएका साथीहरुले सधैं उत्कृष्ट काम गर्दै आएको भन्दै मञ्चको प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सोही वडाका जनप्रतिनिधि बुद्धलाल चेपाङले विकट ठाउँमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मञ्चले गरेको सहयोग निकै महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा मञ्चका सल्लाहकारद्वय रामकुमार घिमिरे र शम्भु अधिकारी, वडासदस्य लोकबहादुर प्रजाले पनि बोलेका थिए ।
कार्यक्रममा मञ्चका सदस्य विनोद खतिवडा, शिव सापकोटा, किशोर अधिकारी लगायत सहभागी थिए ।