माघ १५, २०७९ आइतबार
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका-१ न्वारमा विभत्स हत्या भएको छ ।
बडिगाड गाउँपालिका-३ सिसाखानी घर भई मुसिकोट नगरपालिका-१ न्वारमा व्यवसाय गर्दै आएकी गङ्गादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।
अन्ठाउन्न वर्षीया शेरचन न्वारमा ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिइन् । बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।
खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
“घटना हत्या भएको हाम्रो आशङ्का छ”, रानाभाटले भने, “अहिले कुकुरको सहायताले अनुसन्धान हुँदै छ ।” अविवाहित उनी एक्लै गङ्गा होटल सञ्चालन गर्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताए ।
शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् ।
उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए ।