‘ह्यारी की प्यारी : नेपाली कल्चर समेटेको फरकधारको चलचित्र’

माघ १६, २०७९ सोमबार

पोखरा ।  माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा “ह्यारी की प्यारी” टोली यतिबेला राजधानी बाहिर प्रोमोशन टुरमा छ । आइतबारमात्र पोखरामा पत्रकारहरुसँग साक्षत्कार गर्दै टोलीले फरकधारको सिनेमा भएको दाबी गर्यो । 

निर्देशक डा.कपिल रिजालले सिनेमा नेपाली परिवेशलाई समेट्ने गरी बनेको अभिव्यक्ति दिए । उनले भने, ‘ह्यारी की प्यारी नेपाली कल्चरलाई समेट्ने सिनेमा हो । नेपालको संस्कृतिलाई सिनेमा मार्फत अन्तराष्ट्रिय स्थरमा प्रचारप्रसार गर्न मदत पुग्ने विश्वास लिएका छौं ।’ 

ह्यारी की प्यारी सिनेमालाई नेपाली, बंगाली, हिन्दी, मराठी भाषामा डबिङ गरिएको जानकारी उनले गराएका छन् । ३० वर्षदेखि युकेमा डेन्टिसको डाक्टरको कर्म गर्दै आएका रिजालको सिनेमा प्रतिको लगाव सानैदेखि भएकाले पनि उनलाई यसतर्फ आकर्षण बढ्यो । 

उसो त उनका बुवा डा. भोला रिजालले पनि नेपाली सिनेमा क्षेत्रमा काम गरिसकेका छन् । लक्ष्मी पूजा, साथी, पाखे लगायतका सिनेमा भोला रिजालले नै लेखेका हुन् ।

बुवा सिनेमा क्षेत्रमा काम गरेको भएर होला कपिललाई पनि सिनेमा बनाउने रहर थियो । जसलाई अहिले आएर उनले पूरा गर्न पाएका छन् । कपिल भन्छन्, “मेरो बुवाले नेपालका पूराना रुचाइएका लक्ष्मी पूजा, साथी, पाखे लगायतका सिनेमाहरुमा कथा लेख्नुभयो । मलाई पनि पहिलेदेखि नै सिनेमा क्षेत्रमा काम गर्न मन थियो । जुन अहिले पूरा भएको छ ।’

यसअघि कपिलले म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् । सिनेमा ‘ह्यारी की प्यारी’ को कन्सेप्ट कोभिडको समयमा आएको उनले बताए । दुई फरक परिवेशको मान्छेलाई जोड्ने कथा भएकाले पनि ‘ह्यारी की प्यारी’ निर्देशन गर्न आफु तयार रहेको उनले उल्लेख गरे ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सिनेमा राम्रो बनेको अभिव्यक्ति दिइन् । दर्शकले सिनेमामा आफ्नो भूमिकालाई रुचाउने भनाई उनको छ । नेपाली मौलिकतालाई आधुनिक तवरले प्रस्तुत गरिएको भएर पनि दर्शकलाई सिनेमाको कथा मन पर्नेमा उनी विश्वस्त देखिन्छिन् । 

साम्राज्ञी भन्छिन्,‘सिनेमा राम्रो टिमका कारण चल्ने हो । सिनेमाको कन्टेन्टका आधारमा नै सफलता मिल्ने गर्छ । सिनेमा राम्रो भयो भने त्यसको जस सबै टीमलाई हुन्छ । यदि राम्रो चलेन भने त्यसको सम्पूर्ण अपजस एक आर्टिस्टले मात्र खेप्नुपर्छ । तर ह्यारी की प्यारी सिनेमा त्यस्तो छैन । पारिवारिक सिनेमा भएकाले सफलता अवश्य मिल्छ । सबैलाई माघ २० बाट प्रदर्शन हुने हाम्रो सिनेमा हेर्न आग्रह गर्दछु ।’

कलाकार जितु नेपालले हाँस्यव्यङ्ग्य कथावस्तुमा आधारित सिनेमामा आफ्नो भूमिकालाई दर्शकले फरक तरिकाले हेर्न पाउने बताए । उनका अनुसार ‘ह्यारी की प्यारी’ मा कमेडी पनि फरकधारको कमेडी छ । जसमा पात्र भन्दा पनि वातावरणले दर्शकलाई हसाउँछ । उनले सिनेमाको कथावस्तुको टेस्ट बदल्न खोजेको अभिव्यक्ति दिए । 

‘सबै मान्छेको टेस्ट एकै प्रकारको हुदैन । परिकार पनि कसैलाई के मन पर्छ कसैलाई के । कथावस्तु पनि त्यस्तै हो । तर हामीले सबैलाई मन पर्ने खालको टेस्ट पस्कन खोजेका छौं । आशा छ दर्शकको साथ, समर्थन मिल्नेछ ।’ 

डिओपी सुदिप बरालले सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम भारतमा भएको जानकारी गराए । उनले नेपाली सिनेमालाई अन्तराष्ट्रिय बजारसँग जोड्न पनि यस्तो गर्नुपरेको अभिव्यक्ति दिए । 

उनले भने, ‘ह्यारी की प्यारी को प्राविधिक पक्ष पनि सबल छ । सिनेमाको सम्पूर्ण पोस्टप्रोडक्सनको काम हामीले भारतमा गरेका हौं । नेपाली सिनेमालाई अन्तराष्ट्रिय बजारमा पनि बिकाउने हेतुले यस्तो गर्नुपरेको हो ।’ 

बरालका अनुसार नेपालमा टेक्नोलोजीको अभाव हुँदा राम्रा सिनेमाहरुमा प्राविधिक त्रुटिहरु देखिन्छ । यसको समस्याको समाधानका लागि दक्ष प्राविधिकहरुको खाँचो नेपालमा रहेको धारणा उनको छ । उनी भन्छन्,‘प्रविधि भएर मात्रै हुँदैन त्यसलाई प्रयोग गर्ने दक्ष प्राविधिक भएनन् भने अर्थ रहदैन । राम्रो कथावस्तु हुँदाहुँदै पनि सिनेमा फितलो बन्छ । यसमा सिनेमा सम्बद्ध निकायको ध्यान जान जरुरी छ ।’

पर्वतको भुकदेउरालीमा ४५ दिनसम्म छायाँकन गरिएको सिनेमामा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय रहेको छ । बिआर प्रोडक्सनको प्रस्तुती सिनेमाको कथा सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यु निराबी र डा.कपिल रिजालले लेखका हुन् । 

सिनेमाका ४ गीत सार्वजनिक भइसकेका छन् । जसमा कोरियोग्राफी कबिराज गहतराजको छ । सिनेमाका गीतमा थोमस एण्ड्रियुज, देवनजली जोशी, सौरभ दास, मिना निरौला, सपन कुमार राईको स्वर रहेको छ । युग भुसाल र शिखर सन्तोषले संगीत भरेका छन् । सनेमाका निर्माता डा. भोला रिजाल हुन् ।