‘नाम्लो’ बोकेर सडकमा आए घिमिरे (भिडियोसहित)

असार १९, २०७७ शुक्रबार

पोखरा, १९ असार गायक तथा संगीतकार जीवन सुनारको नयाँ गीत ‘बिन्ती सुनिदेउन’को भिडियो सार्वजनिक भएको छ । कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई एउटा पात्रमार्फत भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा पाका अभिनेता प्रकाश घिमिरे ‘फिचर्ड’ छन् । भिडियोमा घिमिरेसँगै प्रमिला तुलाचन, दिपिका क्षेत्री, राजेन्द्र गहतराजसँगै पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरुको अभिनय रहेको छ । भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । ‘कोरोना महामारीका कारण गरिएको लकडाउनले सबैलाई समस्यामा पारेको छ । समाजमा यसले पारेको प्रभाव मैले गीतमार्फत भन्न खोजेको हुँ’, गायक तथा संगीतकार जीवन सुनारले भन्छन्, ‘गीतमार्फत यो दुख अब हटाईदेऊ भनेर इश्वरसँग पुकार पनि गरेको छु ।’ सुनारले यसअघि पनि थुप्रै चर्चित गीतहरु दिईसकेका छन् । ‘माया यो कस्तो माया’, ‘दुरी’, ‘म मर्दा रुन बस्नेहरुलाई’, ‘जीवनसंगीनि’ जस्ता गीतहरुले दर्शकमाझ निकै राम्रो छाप छाडेका थिए । आफ्नो पछिल्लो गीत ‘बिन्ती सुनिदेउन’ लाई दर्शक स्रोताले अघिल्ला गीतहरु जस्तै मन पराइदिनेमा आफू विश्वस्त रहेको सुनारले बताए । यो गीतको संगीत सुनारको आफ्नै हो भने शब्द निर्देशक नेत्र गुरुङसँग मिलेर लेखेका हुन् । भिडियोमा यसअघि निर्मित छोटो फिल्म ‘नाम्लो’ कै चरित्रमार्फत कथा वाचन गरिएको छ । ‘हाम्रो टिमले लकडाउनको बेलामा निरन्तर छोटो फिल्महरुमार्फत समाजका विभिन्न पाटोहरुलाई देखाउन खोज्यौँ ।’ निर्देशक नेत्र गुरुङ भन्छन्, ‘त्यही बीचमा जन्मिएको हो दानबहादुर नामको चरित्र । नाम्लो फिल्ममा देखिएको दानबहादुर चरित्रबाटै कथा भन्दा गीतलाई अझै बढी न्याय हुने र चरित्रलाई पनि अझै बलियो बनाउन सकिने भएकोले हामीले यसो गरेका हौँ ।’ अभिनेता प्रकाश घिमिरेले पनि आफूलाई गीत निकै मन परेको बताए । उनी भन्छन्, ‘त्यसैमाथि मलाई अति नै गज्जब लागेको चरित्रलाई पुनः गीतमार्फत जीवन्त गर्न पाउँदा मलाई खुशी लागेको छ ।’ घिमिरे भन्छन्, ‘गीतले नाम्ले चरित्रलाई अझै उठाईदिएको छ । सँगसँगै गीत पनि भिडियोमार्फत अझै उठेको छ जस्तो मलाई लागेको छ ।’ ‘बिन्ती सुनिदेउन’ गीतको भिडियोलाई मिलन शंकरले खिचेका हुन् । निर्देशक गुरुङ आफैले सम्पादन गरेको भिडियोलाई किरणराज थापाले रंग सँयोजन गरेका हुन् । योगेश काजीको एरेन्ज रहेको गीतको भिडियो निर्माणमा विजयराज अधिकारीले व्यवस्थापन गरेका हुन् । भिडियो पनि https://youtu.be/UGo08HYz_VQ?t=3