हरिदेवीको ‘कस्ता दिन गए वरै’ सार्वजनिक

साउन ७, २०७७ बुधबार

पोखरा, ७ साउन प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको नयाँ तीज गीत ‘कस्ता दिन गए वरै’ हालै सार्वजनिक गरिएको छ । गायिका कोइरालाले तीज गीतमार्फत पछिल्लो समय तीजमा बढ्दै गएको विकृतिलाई उजागर गर्न खोजेकी छन् । गीतलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोलाई निर्देशक समेत रहेका वासुदेव पोखरेलले खिचेका हुन् । श्याम शुक्ला फिल्म प्रडक्सनका अशोक आलेले सम्पादन तथा सपना र सुस्मिता तिवारीले अभिनय गरेका छन् । गीतको शब्द र लय स्वयं कोइरालाकै हो । परिकल्पनामा हरिदेवीलाई उनकै श्रीमान रामबहादुर कोइरालाले र स्वरमा सञ्चारकर्मी समेत रहेकी शान्ति गुरुङ, दुर्गा गुरुङ र लक्ष्मी गिरीले साथ दिएका छन् । यो गीत एकैक दिनमा ५३ हजार दर्शकले हेरिसकेका छन् । तीजका नाममा रत्यौली दोहोरी, र्याप र पप शैलीमा विकृति भइरहेको भन्दै गायिका कोइरालाले यो अवस्थामा जेष्ठ नागरिकहरुलाई सम्झेर आफूले नयाँ गीत सार्वजनिक गरेको बताइन् । वास्तविक तीज कस्तो हुनुपर्छ ? भन्ने सन्देश आफूले दिन खोजेको उनले स्पष्ट पारिन् । कोकिल स्वरकी धनी हरिदेवीले २०४५ सालदेखि निरन्तर रुपमा तीज गीत सार्वजनिक गर्दै आइरहेकी छिन् । हरिदेवीका २ सय भन्दी बढी तीज गीत सार्वजनिक भैसकेका छन् । कोइराला विभिन्न साहित्यिक संघसंस्थामा समेत आवद्ध छिन् । भिडियो https://www.youtube.com/watch?v=hBbyfFFJ0js&feature=share&fbclid=IwAR3Kr0wUJoYjm57A-N4_ePOmYXcKyD8Kow_X-L-JsIg8q22UidNoFR0T-GI