'लेकाली हामी' पुनः अक्वोष्टिक भर्सनमा (भिडियोसहित)

साउन १६, २०७७ शुक्रबार

पोखरा, १६ साउन । गायक भाई गुरुङले दुई दशक अघि आफैंले गाएको 'लेकाली हामी' बोलको चर्चित गीतलाई नयाँ स्वादका साथ अक्वोष्टिक भर्सनमा पुनः प्रस्तुत गरेका छन । श्रोता र दर्शकको चाहनालाई मध्यनजर गर्दै करिब दुई दशक अघि गाएको गीतलाई अहिले पुनः गाएको उनले सुनाए । मेख गुरुङ र नविन गुरुङको शब्द रहेको सो गीतमा नविन गुरुङले संगीत भरेका छन । गीतको छायाँकन र सम्पादन एस टु प्रोडक्शनका सुरज श्रेष्ठले गरेका हुन । उ बेलाको चर्चित लेकाली ब्याण्डबाट आफ्नो गायनयात्रा थालनी गरेका उनले हालसम्म चार दर्जन बढी गीतहरु गाइसकेका छन । मुटु चिरी, लेकाली हामी, पहिलो नजर, कहाँबाट, अन्धो माया लगायत कयौं उनका चर्चित गीतहरु हुन । सोलो गायन रोजेका गुरुङले लेकाली ब्याण्डमा रहदा भने 'यो मुटुमा' लगायत तीन वटा एलबममा आफ्नो स्वर दिएका थिए । पछिल्लो पटक प्रिमियर गरिएको 'लेकाली हामी' गीतको नयाँ स्वादलाई समेत दर्शक श्रोताले माया गरी उत्तिकै मन पराइदिने अपेक्षा उनले गरेका छन । युवा बवस्थामा लाहुर जाने सपना बुनेको युवाको कहानीबाट गीतको सुरुवात हुन्छ । लेकबेंसी र मेलापातको पुरानो सम्झना समेत गीतले पुनर्जिवित गरेको छ । साथै माया प्रेमका भावहरुलाई भिडियोमा प्रस्तुत गर्दै गुरुङले गीत मार्फत मेलापातका संगीनीको मधुर भाका मात्र सम्झना गरेका छैनन् बैंस फुल्दाका सोल्टीनीको मनै चुँड्ने आँखा पनि सम्झेका छन । तिहारमा दाजुभाइका लागि सयपत्रीको फूल उन्ने प्यारा दिदी बैनीको सम्झना देखि सोरठीमा मादल ठोक्ने प्यारो भाइको सम्झना समेत गीतमा समावेस गरिएको छ । भिडियो हेर्नुहोस : https://youtu.be/eFydxMl126g